

बुटवल । रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालको आयोजनामा देवदह नगरपालिका वडा नं. २ ढेकार स्थित भविष्य निर्माण माविमा बालबालिकामा स्वस्थ खानेकुरा, मनोसामाजिक समस्या तथा लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित सचेतना कार्यक्रमको अवसरमा ५० वटा विभिन्न प्रजातिका फूलका विरुवाहरु रोपिएको क्लवका अध्यक्ष रोटरीयन डा. विक्रम काफ्लेले जानकारी दिए ।
त्यसक्रममा बालबालिकामा स्वस्थ खानपिनका सन्दर्भमा बाल रोग विशेषज्ञ डा. सन्तोष पोखरेलले सहजीकरण गर्दै प्रशोधित जंकफूडको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराए ।

यस्तै मनोविद् यशोदा बगालेले बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको उपायको बारेमा प्रकाश पारीन् । यस्तै क्लवका अध्यक्ष डा. काफ्लेले बालबालिकामा लागुऔषध सम्बन्धी दुव्र्यवसनको अवस्थाको बारेमा जानकारी गराउँदै यस्मा फस्नुको कारण र बच्ने उपायको बारेमा स्पष्ट पारे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा र विद्यालयका प्रअ गोविन्द भुसालले विद्यार्थीमा चेतना जगाउने कार्यक्रमहरु निरन्तर रुपमा गर्न क्लवलाई आग्रह गरे । कार्यक्रममा दुई सय जना विद्यार्थी सहभागी भएका थिए ।
