रुपन्देही डान्स स्टारको चौथो संस्करण हुँदै

मेचीकाली संवाददाता

३० कार्तिक २०८१, शुक्रबार
379 shares

बुटवल । नेपाली कला,संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ रुपन्देही डान्स स्टारको चौथो संस्करणको प्रतियोगिता हुने भएको छ । छमछमी कला केन्द्रको आयोजनामा शनिबारदेखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन—४ हुने भएको हो ।

प्रतियोगिताको अडिसनको तयारी पुरा भएको छमछमी कला केन्द्रका सञ्चालक किशोर थापाले बताए । ‘अडिसन शनिबार देविनगरस्थित गार्गी एकेडेमीमा हुनेछ’ उनले भने, ‘अडिसनमा सहभागीहरु प्रत्येकबाट २ मिनेटको प्रस्तुति रहनेछन ।’ एक वर्षको विविध कारणले रोकिएको प्रतियोगिता अहिले हुन लागेको उनले बताए । यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी उपविजेताले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए । एक महिनासम्म विभिन्न चरण हुँदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गीतमा मात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । नृत्य प्रतियोगिताको नाममा बजारमा विकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे । फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुने उनले बताए । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिइन् ।