सैनामैनामा बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गरिँदै

मेचीकाली संवाददाता

९ मंसिर २०८१, आईतवार
196 shares

सैनामैना । सैनामैना नगरपालिकामा रहेका बालबालिकाको पोषणको अवस्थाका बारेमा लेखाजोखा गर्न थालिएको छ । यहाँ पहिलो सर्भेक्षणमा यकीन भएका ५५४६ बालबालिकाहरूको पोषणको विद्यमान अवस्थाका बारेमा लेखाजोखा गर्न सुरु गरिएको हो ।

सैनामैना नगरपालिका वडा न ६ को झाला टोलको दुर्गा माता मन्दिर र सैनामैना नगरपालिका ३ गङानगरमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्थाको लेखाजोखा ‘मुआक स्क्रिनिङ क्याम्प’ सुरु भएको छ ।
हालै समारोहबीच सैनामैनाका जनप्रतिनिधि, स्वास्थ्यस्वयमसेवी, अभियानमा सहकार्य गरिरहेको सामाजि संस्था सेतो गुराँसलगायतको सहकार्यमा उक्त कार्यक्रम सुरु गरिएको अभियानकर्ता चन्द्रमा पौडेलले जानकारी गराइन । उक्त कार्यक्रम सैंनामैना वडा नं।६ बाट सुरु भएको र नगरका सबै ११ वटै वडामा विस्तार गरिने अभियानकर्ता पौडेलको भनाइ छ ।
सेतोगुराँस बाल विकास सेवा रूपन्देहीद्वारा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको सहयोग समन्वय तथा नगरपालिकाको आयोजनामा यस्तो अभियान सुरु भएको हो ।

एक समारोहबीच कार्यक्रमको सुरुआत भएको घोषणा गर्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले बालबालिकाको बहुआयामिक वित्तृविकासमा यसप्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सबै वडाका टोलटोलमा अभियान विस्तार गर्न आग्रह गर्दै नगरपालिकाले विशेष सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उपप्रमुख बिना रानाले बालबालिकामा पोषणा पुगेनपुगेको यकीन गरेर त्यसलाई सुधार्नेगरी कार्यक्रम विस्तार गर्न र अभिभावकमा समेत सेचतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन ।

सैनामैनका स्वास्थ्य शाखा प्रमुख बसन्तकुमार श्रेष्ठले सैनामैनाका कुनैपनि बालबालिकालाई कुपोषित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रभावकारी बनाइने बताए । शीघ्र कुपोषणलाई सुपर सिरियल प्लसको माध्यमबाट बच्चाहरूको उपचार गरी निको गराउने र पालिकामा कुनै पनि कुपोषित बालबालिका उपचारमा नछुटुन भन्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।

वडा नं। ६ का अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्मा, स्वास्थ्य चैकी इन्चार्ज खगराज पोख्रेल, वडा नम्बर ६ का वडा सदस्यहरु गिता घिमिरे, स्वास्थ्यकर्मी बिहारी मौर्य, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका उपाध्यक्ष उमा भण्डारी कोषाध्यक्ष गोमती सुनार, कार्यक्रम सयोजक मिनु पुन श्रेष्ठ, सामुदायिक परिचालक चन्द्रमा पौडेल, स्वास्थ्य स्वयम्सेबिका तारा गौतम, रमा सिलवाललगायतले कार्यक्रम सफलताको कामना गरेका थिए । ४७ स्थानमा मुआक स्क्रिनिङ क्याम्प सञ्चालन गरिने र जसमा ५५४६ जना बालबालिकाहरूको पोषण अवस्था पहिचान गर्ने लक्ष्य रहेको रहेको बताइएको छ ।