ग्यास्ट्रो सेन्टर बुटवलले मनायो वार्षिकोत्सव, एक वर्षमा २५८७ जनाको उपचार

मेचीकाली संवाददाता

१६ मंसिर २०८१, आईतवार
107 shares

बुटवल । ग्यास्ट्रो सेन्टर प्रालि बुटवलले एक वर्षमा २ हजार ५८७ जनाको सफल उपचार गरेको छ । प्रथम वार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष डा.मोहन भुसालले स्थापनाको पहिलो वर्ष संस्थाको उद्देश्यअनुसार सफल भएको जानकारी दिए । एक वर्षमा उपचारका लागि आएका बिरामीहरुमध्ये ३०५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा.भुसालको भनाइ रहेको छ ।

यस्तै प्रालिले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत रुपन्देहीको देवदह, अर्घाखाँचीको शीतधारा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविरसमेत सञ्चालन गरेको थियो । प्रालिका सञ्चालक रामप्रसाद अर्यालका अनुसार शिविरबाट १ हजार २४८ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा आएका ९२ जना बिरामीको निःशुल्क रुपमा इन्डोष्टकपीसमेत गरिएको सञ्चालक अर्यालले जानकारी दिए ।

यस्तै प्रालिको प्रथम स्थापना दिवसको अवसरमा लिभरको जाँचमा ४० प्रतिशत छुट र ओपिडी टिकट, ल्याबलगायतका सेवामा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रालिका सञ्चालक युवराज दिशामगरले जानकारी दिए ।