प्रकाशकीय: जनपक्षीय पत्रकारिताको प्रतिबद्धता

मेचीकाली संवाददाता

३० मंसिर २०८१, आईतवार
134 shares

वि.सं.२०५७ साल मंसिर ३० गतेदेखि निरन्तर प्रकाशनमा रहेको मेचीकाली सन्देश राष्ट्रिय दैनिकले आज रजत जयन्ती वर्ष मनाउँदैछ । नेपाली समाजको परिवर्तन र विकास यात्रामा जनताको आवाजलाई बुलन्द गर्दै, सत्य, न्याय र मानव अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । सामाजिक रुपान्तरणका लागि आमसञ्चारको एउटा भरपर्दो माध्यमका रुपमा मेचीकाली निरन्तर समर्पित छ । मेचीकालीले सुरुवातदेखि नै विभेद, अन्याय र निरंकुशताको विरोधमा आवाज बुलन्द गरेको छ ।

नागरिकलाई जागरूक पार्ने, समाजलाई न्यायपूर्ण र लोकतान्त्रिक बनाउन प्रेरणा दिने काममा समेत मेचीकालीले भूमिका स्थापित गरेको छ । मानवअधिकार, नागरिक अधिकार र सामाजिक न्यायका पक्षमा मेचीकाली अडिग छ । राज्यका जिम्मेवार निकाय र नागरिक समाजलाई समेत जवाफदेही बनाउन मेचीकालीले खबरदारी गरिरहेको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलनमा मेचीकालीले जनताका जायज संघर्षलाई सशक्त रुपमा साथ दियो । हिंसा, अराजकता वा अपराधको पक्षपोषण कहिल्यै गरेन । बरु, शान्ति, सद्भाव, मानवता, विवेक र समाजको समृद्धिको पक्षमा निर्भीक पत्रकारिताका माध्यमबाट सन्देश प्रवाह गर्दै आएको छ । तथ्यका आधारमा सत्य स्थापित गर्नुपर्छ भन्ने मेचीकालीको मान्यता हो । जनपक्षीय, जवाफदेही र जिम्मेवार पत्रकारिता मेचीकाली सन्देशको मिशन हो ।

चाहे चार पेजको श्यमस्वेत हुँदा होस्, चाहे अहिले रंगीन कलेभरको ब्रोडसिट र अनलाइन संस्करण नै किन नहोस् मेचीकालीको आफ्नै लय छ, आफ्नै योजना छ, आफ्नै शैली छ, जसलाई आम पाठकले मन पराइरहनुभएको छ । हामी हौसिने, मात्तिने, उफ्रिने र निराश हुने गरेर होइन, शालीनताकासाथ आचारसंहिताको पालना गरेर, संविधान, कानुन र विधिलाई आत्मसात् गरेर आमसञ्चारको एउटा पारदर्शी र विश्वासिलो माध्यमका रुपमा निरन्तर सक्रिय छौं । हामीले प्रस्तुत गर्ने विशिष्ट सामग्रीहरूले धेरै पटक समाजलाई जागरूक बनाएको छ । कुनै समयमा उठाइएको मुद्दाका कारण समाज नै आन्दोलनमा उत्रिएको इतिहास साक्षी छ ।

आज नयाँ राजनीतिक प्रणाली स्थापनापछि पनि मेचीकालीले समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध आफ्नो अभियानलाई निरन्तरता दिएको छ । जनताको जीवनस्तर सुधार्न, परिवर्तनको अनूभूति गराउन, अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने मेचीकालीको सम्पादकीय नीति हो । अबको यात्रामा, मेचीकालीले जनताको विश्वासलाई अझ बलियो बनाउँदै सत्य र न्यायको सारथी बनेर निरन्तर अघि बढ्ने प्रतिवद्धता आजको यो रजत वर्ष प्रवेशको अवसरमा पुनः दोहोराउन चाहन्छौं । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित रहँदै हामी निरन्तर जागरूक, जिम्मेवार, सत्यनिष्ठ र जनपक्षीय पत्रकारितामा प्रतिबद्ध छौं ।

होमराज बस्याल
अध्यक्ष
मेचीकाली सन्देश प्रकाशन प्रा.लि