बुटवल, । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा आयोजित ‘गार्गी म्यूजिकल फेस्ट–२०८१’ को उपाधि विद्यार्थी कञ्चन सिलवालले जितेकी छन् । विद्यार्थीको गायन प्रतिभा उजागर गर्ने उद्देश्यसहित गार्गी बाल क्लबद्वारा आयोजित फेस्टको उपाधि सिलवालले हात पारेकी हुन् । त्यस्तै द्वितीयमा अभिमन्यू सुनार र तृतीयमा नियोग कालिराज भएका छन् ।
८८ जना प्रतियोगीबाट फाइनलमा ७ जना छानिएका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यालय सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको प्रतिभा र क्षमतालाई उजागर गर्दै अघि बढेको बताए । प्राचार्य अधिकारीले अभिभावकहरुको माया र सदभावले विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सकेको बताउँदै विद्यार्थीको रूचि र क्षमतालाई विद्यार्थीले पहिचानलाई सधै कदर गर्ने प्रष्ट पारे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र अधिकारीले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयको भूमिका अग्रणी रहेको बताउँदै विद्यार्थीको क्षमतालाई सधै महत्व दिने बताए । कार्यक्रममा विद्यालयका निर्वतमान अध्यक्ष रणबहादुर थापा, सञ्चालक समिति सदस्य जीवन अधिकारी लगायतले बोलेका थिए । गार्गी बाल क्लबका अध्यक्ष शिसम रानाको अध्यक्षता तथा मावि संयोजक शिक्षक समिर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका २ हजार २ सय ६७ विद्यार्थी अध्ययनरत छन् ।