रूपन्देहीमा प्रभावकारी बन्दै क्षयरोग निवारण अभियान

मेचीकाली संवाददाता

११ चैत्र २०८१, मंगलवार
14 shares
विश्व क्षयरोग दिवसको सन्दर्भमा बुटवल उपमहानगरपालिकामा आयोजित पत्रकार तथा सरोकारवालासँगको छलफल कार्यक्रम । तश्विर/मेचीकाली

रमेश पराजुली

बुटवल । रूपन्देहीमा क्षयरोगमुक्त बनाउने अभियान प्रभावकारी बन्दै गएको छ । समुदायस्तरमा खोज अभियानलाई प्रभावकारी रुपमा अघि बढाएपछि क्षयरोग निवारणको अभियानले सार्थकता पाएको हो । रुपन्देहीमा पछिल्लो साढे एक वर्षमा २ हजार ७७९ जना क्षयरोग संक्रमित फेला परेका छन् । यस अवधिमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रुपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ कोे साउनदेखि पुस महिनासम्ममा ७७६ जना नयाँ बिरामी फेला परेका छन् । आ.व ०८०/०८१ मा फेला परेका २ हजार १२ जना बिरामीमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४४३ जना रहेका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा २७१, सिद्धार्थनगरमा १७०, सैनामैनामा १४६, लुम्बिनी सांस्कृतिकमा १२३, देवदहमा १३९, मायादेवी गाउँपालिकामा १०१, कञ्चनमा ९६, गैडहवामा ८६, ओमसतियामा ८२, शुद्धोधनमा ७७, कोटहीमाइमा ६५, रोहिणीमा ६२, मर्चवारीमा ५३ र सम्मरीमाईमा ५३ जना बिरामी छन् ।

उक्त संख्यामध्ये १ हजार २३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् । स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्शन टीकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधी सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधी सेवन नगर्नाले समस्या बल्झिने धेरै रहेको बताए । ‘६ महिना नियमित उपचार गरे रोग निको हुन्छ’, उनले भने, ‘तर, बीचमै उपचार गर्न छाड्ने प्रवृत्ति धेरै देखिएको छ ।’ रुपन्देहीमा क्षयरोगको उपचारका लागि १२२ वटा डट्स केन्द्र, १६ स्थानमा परीक्षणका लागि माइक्रोस्कोपी, २५ स्थानमा प्रयोगशाला उपलब्ध छन् ।

बुटवलमा ‘नयाँ क्षयरोगी खोज’ अभियान तीव्र
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले समुदायमा रहेका नयाँ क्षयरोगीहरु पत्ता लगाएर पोषणसहितको उपचारमा जोड दिइएको बताए । पछिल्लो दुई वर्षदेखि क्षयरोग उन्मुलनका लागि उपमहानगरले समुदाय स्तरमै पुगेर खोजी अभियान सञ्चालन गरीरहेको उनले बताए । यो अभियानले समुदायमा लुकेर रहेका बिरामीहरुलाई उपचारको दायरामा ल्याउन सफल भएको शाखा प्रमुख पाण्डेले दावी गरे । ‘हामीले गत वर्षदेखि नै १९ वटै वडाका विभिन्न ठाउँमा क्षयरोग परिक्षण शिविर आयोजना गरी नयाँ बिरामी पहिचान गर्ने अभियान थालेका छौँ, यसवर्ष पनि यो अभियान निरन्तर चलिरहेको छ ।’, उनले भने,‘एक जना संक्रमितले १० जनालाई रोग सार्न सक्ने भएकाले क्षयरोगीलाई सामाजिक दुव्र्यवहार होइन उपचार जरुरी छ ।’ नियमित औषधी सेवन गरे क्षयरोग निको हुने उनले बताए ।

बुटवल उपपमहानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार क्षयरोगको उपचारका लागि दर्ता भएका ४२९ जना क्षयरोगी मध्ये ३९३ जना निको भएको जनस्वास्थ्य अधिकृत मिनप्रसाद खनालले जानकारी दिए । सोही अवधिमा १३ जना बिरामीको मुत्यु भएको छ भने ५ जनाको उपचार असफल भएको छ । ४ जना बिरामीले नियमित रुपमा औषधी सेवन नगरेको र १४ जना उपचारमा नआएको पाइएको छ ।
चालू आर्थिक वर्षको माघ महिनासम्ममा क्षयरोगका २२० नयाँ बिरामी भेटिएका छन् । आ.व २०८०/०८१ मा भेटिएका ४४३ जना बिरामीमध्ये २५५ जना पुरुष र १८८ जना महिला रहेका छन् । यस्तै सबै उमेर समुहका व्यक्तीमा क्षयरोगको संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी ६५ वर्षमाथिका ८७ जना बिरामी रहेका छन् भने ०–४ वर्षसम्मका १७ जना, ५–१४ वर्षसम्मका १२ जना, १५–२४ वर्षसम्मका ८२ जना, २५–३४ वर्षसम्मका ८५ जना, ३५–४४ वर्षसम्मका ५९ जना, ४५–५४ वर्षसम्मका ४६ जना र ५५–६४ वर्षसम्मका ५५ जना बिरामी रहेका छन् । औषधि प्रतिरोधी क्षयरोग (डिआरटीबी) का १६ जना बिरामी रहेका छन् । यस्तै आ.व ०७९/०८० मा ४२९ जना, आ.व ०७८/०७९ मा ३९६ जना, आ.व ०७७/०७८ मा २९२ जना, आ.व ०७६/०७७ मा २९३ जना क्षयरोगका नयाँ बिरामी भेटिएका थिए ।

सम्भावित क्षयरोगको लक्षण भएका बिरामीको वडा र टोलमा रहेका स्वाथ्य स्वयंसेविका मार्फत पहिचान गरी पालिका भित्र रहेका विभिन्न प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा समेत परीक्षणको लागि पठाउने गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको स्वाथ्य चौकीमा व्यवस्था गरिएको नेपालकै पहिलो एआई जडित एक्सरेबाट समेत पहिचान गर्ने काम गरिएको नगरपालिकाले जनाएको छ । जसबाट ६ जना नयाँ बिरामी पत्ता लागेका थिए ।

बुटवल उपमहानगरपालिकामा क्षयरोग उपचार डट्स सेन्टर १३ वटा सम्पूर्ण स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा समेत व्यवस्था गरिएको छ । जटिल खालको क्षयरोगका बिरामीको लागि डीआर सेन्टर भने लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै रहेको छ । निदानात्मक सेवाअन्र्तगत माइक्रोस्कोपिक सेन्टर बुटवल उपमहानगरपालिकाअन्तर्गत ८ स्थानमा, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ । जिन एक्सपर्ट सेन्टर लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ ।

समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआइभीलगायत अन्य रोगकोसमेत संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुने प्रमुख कारण रहेको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । समाजमा अझैपनि क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको उनले बताए । क्षयरोग भएका व्यक्तिले औषधी सुरु गरेपछि अरुलाई नसर्ने र ६ महिना निरन्तर औषधी सेवन गरे रोग निको हुने उनले बताए ।

क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रमण रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्ने चिकित्सकहरू बताउँछन् । क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकाले बिरामीले श्वास फेर्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ । लगातार २ हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु र साँझपख मन्द ज्वरो आउनु क्षयरोगका मुख्य लक्षण हुन् । समयमा उपचार नगरेमा मृत्यु हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

क्षयरोगको सम्पूर्ण जाँच तथा परीक्षण र औषधीको व्यवस्था सरकारले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोगको समयमै पहिचान गरी उचित तरिकाले औषधी सेवन नगर्दा यो रोगको कारण नेपालमा प्रतिवर्ष करिब १८ हजार जनाको मृत्यु हुने गरेको छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारको लक्ष्य छ ।