कृष्णनगरमा निःशुल्क मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

२० बैशाख २०८२, शनिबार
70 shares

कपिलवस्तु । कृष्णनगर नगरपालिकाको आयोजनामा शिवराज अस्पताल बहादुरगञ्जमा वैशाख १९ र २० गते निःशुल्क मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ हजारभन्दा बढी सेवाग्राहीहरूले विशेषज्ञ सेवा प्राप्त गरेका छन् । शिविरमा इन्स्टिच्युट अफ मेडिसिनकी डीन प्रा.डा. दिव्यसिंह शाहसँगै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रोशन घिमिरे, एसोसिएट प्रोफेसर डा.अनिल भट्टराईलगायत अन्य विशेषज्ञ डाक्टरहरुको टिमले सेवा प्रदान गरेका थिए ।

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएको बताए । आगामी दिनहरूमा पनि यस्ता विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए । शिविरमा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन पाउँदा गर्व लागेको लागेको बताए । उनले भने, ‘विशेषज्ञ सेवा गाउँघरमै ल्याउने हाम्रो लक्ष्य हो । बिरामीको चाप र सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता पुष्टि गरेको छ ।’

शिविरका फोकल पर्सन तथा समन्वयकर्ता डा.दुर्गेशलाल चौधरीले सम्पूर्ण शिविरको व्यवस्थापन, समन्वय तथा चिकित्सक टिमसँग निरन्तर सहकार्य गर्दै सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णलाइ धन्यवाद दिए । शिवराज अस्पतालका हेल्थ असिस्टेन्ट तथा मेडिकल रेकर्डर रुपेश झाका अनुसार शिविरमा इसिजी, इसिएचओ, युएसजी, रक्त परीक्षण, एक्स–रे, औषधीलगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो ।