गुल्मीदरवार पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा

मेचीकाली संवाददाता

५ जेष्ठ २०८२, आईतवार
82 shares

गुल्मी । गुल्मीदरवार गाउँपालिका पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गरिएको छ । जिल्लामा छैठौ र लुम्बिनी प्रदेशको २१ औ पालिकाको रुपमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले घोषणा गर्नुभएको हो । साथै पूर्ण खोप सुनिश्चितत र पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चिता घोषणा गरिएको छ ।

२०८० जेठ ६ गते गुल्मीदरवार गाउँपालिकाले नेपालमै पहिलोपटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेको थियो । घोषणा कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख खत्रीले सामाजिक विकासबिना पूर्वाधार निर्माणले जनताको जिवनस्तर र चेतनाको विकास हुन नसक्ने बताउनुभयो । उहाँले अझै पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै आधारभूत बिषयको संबोधन गर्नुपर्ने अवस्था रहेकाले तिनै तहका सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो । खत्रीले गुल्मी दरवारले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो अभियानहरु संचालन गरेकाले निरन्तरता र गुणस्तरियतामा जोड दिन आग्रह गर्नुभयो ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले निकै कम स्रोत र साधनकाबिच नागरिकहरुको आधारभूत स्वास्थ्य सेवालाई राम्रो बनाउन लागि परेको बताउनुभयो । उहाँले आधारभूत अस्पताल संचालन, स्वास्थ्यचौकीहरुको पुर्वाधार, जनशक्ति व्यावस्थापनसहित पालिकाका स्वास्थ्यका अभियानहरुमा पालिकालाई स्थापित गर्न सकेकोमा गर्व महसुस भएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले गाउँपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो । राष्ट्रिय अभियानहरुको निरन्तरतासंगै ‘मेरी आमा स्वस्थ आमा’, प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, उपाध्यक्ष कोशेली, बाबालाई चिठ्ठी, गर्भवतीको घरमा झण्डा लगायतका कार्यक्रम पालिकाबाट संचालन भइरहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले तिनवटै कार्यक्रममा भएका मुख्य क्रियाकलापहरुका विषयमा जानकारी दिनुभएको थियो । उहाँले स्वास्थ्य जीवनको सवैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले सरकार, सरोकारवाला र व्यक्ति स्वय सचेत रहनुपर्ने बताउँदै पालिकाका तर्फबाट पनि क्षमता अनुसारका काम भइरहेको बताउनुभयो । उहाँले धेरै क्षेत्रहरुमा बजेटको पहुँच पुराउनुपर्ने बाध्यता भएकाले स्थानीय तहको बजेटबाट ठोस काम गर्न चुनौति रहेको बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले सवैको एकिकृत सहयोग र समन्वयबिना अभियानहरु पुरा गर्न नसकिने बताउनुभयो । स्वास्थ्यका सूचकहरु व्यक्तिको जीवनसंग जोडिएकाले निकै मसिनो ढङ्गले काम गर्दा मात्रै सफलता प्राप्त गर्न सकिने बताउनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रमलेनै स्वास्थ्य क्षेत्रलाई सकरात्मक रुपमा संबोधन गरेकाले अभियानहरुको पूर्णता र निरन्तरतामा सहयोग पुगेको अर्यालले बताउनुभयो ।

गुल्मीदरवारमा मेडिकल अधिकृत, फार्मेसी, ल्याव टेक्निसियन, स्टाफ नर्स, हेल्थ असिस्टेण्ट, अहेब र अनमी गरेर १४ जना जनशक्तिसहितको आधारभूत अस्पताल संचालन गरिएको छ । अस्पतालबाट दैनिक बिरामी जाँच, भिडियो एक्सरे, ल्याब, फार्मेसी, २४ घण्टे बर्थिङ्ग सेन्टर र सुरक्षित गर्भपतन लगायतका सेवा प्रदान गरिने गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।

गुल्मीदरवार गाउँपालिकामा पाँच स्वास्थ्यचौकी आधुनिक भवनमा छन् । गुल्मीदरवार गाउँपालिका–४ को बिरबास स्वास्थ्यचौकीको निर्माण हुँदैछ । पालिकाभित्र ८३ महिला स्वास्थ्य स्वयसेविका र ५१ जना स्वास्थ्यकर्मचारी रहेका छन् । बर्थिङ्ग सेन्टर चार, सामुदायिक स्वास्थ्य केन्द्र दुई, आधारभूत स्वास्थ्य केन्द्र एक, खोप क्लिनिक २२ र गाउँघर क्लिनिक १४ रहेका छन् ।