धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा

मेचीकाली संवाददाता

१७ असार २०७८, बिहीबार
912 shares

गुल्मी, असार १७ । गुल्मीको धुर्कोट गाउँपालिका वडा न. ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुभारम्भ भएको छ । एक कार्यक्रमका बिच बुधबार धुर्कोट गाउँपालिका स्वास्थ्य संयोजक प्रेम खनालको एक्स–रे गरी सेवा शुभारम्भ गरिएको हो ।

ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखि गाउँगाउँमा स्थानिय सरकार रहेको महशुस आम नागरिकमा गराउनको लागि र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउनको लागि आधारभुत आवश्यकतामध्ये एक्स–रे सेवा सुरु गरिएको हो । उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडि सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, इसिजि सेवा, ल्याव सम्बन्धि सेवाहरु, स्वास्थ्य विमा कार्यक्रम र बुधबारबाट एक्सरे सेवा लगायतका सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा.जनक पाठकले बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले अब छिट्टै नै भिडियो एक्स–रे सेवा पनि सञ्चालन गरिने बताए । सोहि कार्यक्रममा आफ्ना भनाई राख्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानिय स्तरमा नै आधारभुत सेवा प्रदान गर्न र जनताहरुसँग गरेको वाचा पुरा गर्न सदरमुकाममा दिइने सेवाहरु धुर्कोट प्राथमिक केन्द्रबाट नै सञ्चालन गरिएको बताए । त्यस्तै उनले अबको २ वर्ष भित्रमा १५ सैयाको अत्याधुनिक अस्पताल निमार्ण गर्ने योजना रहेको बताए । त्यस्तै महिला स्वयमसेविकाहरुको लागि यस बर्षबाट कल्याणकारी कोषको स्थापना गरिने उनले बताए ।

धुर्कोट गाउँपालिका उपाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर खत्रिको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख तथा स्वास्थ्य केन्द्रका संरक्षक भुपाल पोखरेलको प्रमुख आथित्यता, प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जनक पाठक, धुर्कोट गाउँपालिका स्वास्थ्य सह–संयोजक सुनिता सारु लगायतकोे आथित्यता रहेको थियो ।

समाजसेवि, जग्गादाता, स्वयमसेविका लगायतको उपस्थिति रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पे्रम खनालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अ.हे.व बाबुराम कुवँरले गरेका थिए ।