

टोपलाल अर्याल
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका ७७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पेन्सन योजनाँंग जोडिएका छन् । रुरुक्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच पेन्सन योजनाका लागि सम्झौता भएको छ । पेन्सन योजनाको सम्झौतामा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की, कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।
सामुदायिक स्वास्थ्य सेवाको मेरुदण्डको रुपमा रहेका स्यवंसेविकाहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै नागरिक लगानी कोषसँग पेन्सन योजना सम्झौता गरेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । लामो समय बिना पारिश्रमिक घरघरमा पुगेर स्वास्थ्य सचेतनादेखि विभिन्न सूचकहरुमा काम गर्ने स्वयंसेविकाहरुको मनोबल उच्च बनाउन लगानी कोषसंग सहकार्य गरिएको ज्ञवालीले बताए ।
रुरुक्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना सम्झौता गर्ने नेपालमै पहिलो पालिकाको रुपमा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दावी गरे । पाण्डेका अनुसार गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को साउन महिनादेखि नै लागू हुने गरी प्रति स्वयंसेविका वार्षिक १० हजारका दरले पेन्सन कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । यस कार्यक्रमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । गाउँपालिकाले आगामी वर्षबाट करार कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीमा समेत पेन्सन योजना कार्यक्रम जोड्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
रुरुक्षेत्र गाउँपालिका–४ की महिला स्वास्थ्य स्वयम्सेविका सरिता नेपालीले रातदिन नभनेर बस्ती–बस्तीमा पुग्ने महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको कदर गरेको भन्दै गाउँपालिकाको प्रसंसा गरिन् । उनले गाउँपालिकाको निर्णय र सम्झौताले काममा लाग्ने बेग्लै ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिइन् ।