क्रिमसनमा आमा र नवजात शिशु सुरक्षा कार्यक्रम

मेचीकाली संवाददाता

६ असार २०८२, शुक्रबार
300 shares

बुटवल । तिलोत्तमाको मणिग्राममा रहेको क्रिमसन अस्पतालले आमा र नवजात शिशु सुरक्षा कार्यक्रम समेत थप गरेर सेवा विस्तार गरेको छ । सरकारी मान्यता र गुणस्तरको उक्त सेवा कक्षको शुक्रबार एक समारोहबीच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँड र उपप्रमुख जागेश्वर देवी चौधरीले शुभारम्भ गरेका छन् ।

‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता र दक्ष जनशक्तिमार्फत प्रभावकारी सेवा प्रवाह गर्दै आएको भन्दै नगर प्रमुख खाँडले अस्पतालको प्रशंसा गरे । उपप्रमुख चौधरीले पनि अस्पतालको विशिष्टिकृत सेवा प्रवाहको प्रशंसा गरिन् । गुणस्तरीय सेवा, विशेषज्ञ जनशक्ति र सामाजिक उत्तरदायित्वमा कुनै कमजोरी नगर्न नगर प्रमुख र उपप्रमुखले आग्रह गरेका छन् ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्रिमसन कलेज अफ टेक्नोलोजीले बिसं.२०५७ सालमा बुटवलको देवीनगरबाट उच्च शिक्षा प्रदान गर्ने लक्ष्यका साथ आफ्नो यात्रा आरम्भ गरेको थियो ।

स्वास्थ्य विज्ञान संकाय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक सीप अभिवृद्धिका साथै स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विसं.२०६८ साल जेठ ३ गते ५० शैयाको स्वीकृति सहित भाडाको घरबाट क्रिमसन अस्पतालले औपचारिक सेवा शुभारम्भ गरेको थियो । यसलाई विस्तार गर्दै आफ्नै सुविधासम्पन्न भवनबाट विभिन्न स्वास्थ्य सेवा उपलव्ध गराइएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।

आज यो अस्पताल रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा विस्तार गर्दै आएको छ । बिसं. २०७५ सालदेखि अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी पश्चिम नेपालको पहिलो निजी क्षेत्रको अत्याधुनिक बहुविद्यात्मक अस्पतालको रुपमा विकसित गरिएको अध्यक्ष पाण्डेको दाबी छ ।

अस्पतालमा अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्ष (मोडुलर ओटी) को पनि नगरप्रमुख खाण र उपप्रमुख चौधरीले उद्घाटन गरे । मोडुलर ओटीको संचालनसँगै शल्यक्रिया गर्नुपर्ने बिरामीमा संक्रमण न्युन हुने, सेवाको गुणस्तर उच्च हुने अस्पतालले जनाएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउने क्रममा मोडुलर ओटी बनाइएको र मोडुलर ओटी संचालनसँगै त्यहाँ शल्यक्रिया गर्नुपर्ने बिरामीसँग लिने शुल्क यथावत रहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।

मातृ तथा नवजात सुरक्षा अभियानको थालनी
नेपाल सरकारको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत निःशुल्क डेलिभरी सेवा तथा नवजात शिशुको उपचार सेवा सञ्चालन गर्दै क्रिमसन अस्पतालले मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्यमा सहयोग पु¥याउँदै आएको छ । मोडुलर अप्रेशन थियटरसहित उच्चस्तरीय सेवा प्रवाह गरिरहेको भन्दै नगर प्रमुख खांडले प्रशंसा गरे ।

स्वास्थ्य सेवालाई थप स्तरीय बनाउँदै अस्पतालले मोडुलर अप्रेशन थियटर संचालनमा ल्याएको छ । यसले शल्यक्रियाको गुणस्तर र सुरक्षा अझ बढाउनेछ । साथै अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू, एनआईसीयू, सिसियु, न्युरो सर्जरी आईसीयू, डायलासिस सेवा, अत्याधुनिक क्याथ ल्याब, सिटी स्क्यान, डिजिटल एक्सरे, इसीजी र प्रयोगशालासहितका सेवा उपलब्ध रहेको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए ।

विशेषज्ञ चिकित्सकको बलियो टोली
हाल अस्पतालमा हाडजोर्नी, नशा, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरोलोजी, स्त्रीरोग, मुटुरोग, न्युरो सर्जरी, दन्त, छालारोग, मनोरोग, मृगौला तथा फोक्सो रोगका वरिष्ठ विशेषज्ञहरू कार्यरत छन् । ४० जना विशेषज्ञ चिकित्सक र १५० भन्दा बढी दक्ष नर्सिङ स्टाफ सेवा क्षेत्रमा समर्पित रहेको प्रशासन प्रमुख कुलमणी ज्ञवालीले जानकारी दिए ।

सरकारी र अन्तर्राष्ट्रिय सहकार्य
क्रिमसन अस्पतालले नेपाल सरकारको बिपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत डायलासिस, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर सेवा प्रदान गरिरहेको छ । साथै भारतीय दूतावाससँगको सहकार्यमा ‘ईसीएचएस कार्यक्रम’ अन्तर्गत भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक तथा तिनका आश्रितलाई निःशुल्क वा सहुलियतमा सेवा उपलब्ध गराइरहेको छ ।

शैक्षिक उत्कृष्टता: दक्ष जनशक्ति उत्पादन
क्रिमसन कलेज अफ टेक्नोलोजीमा स्वास्थ्य विज्ञान, सूचना प्रविधि र व्यवस्थापन संकाय अन्तर्गत बी फार्मेसी, बीएससी एमएलटी, बीएस्सी नर्सिङ, बीएनएस, बीपीएच, बीसीएसआइटील बीबीए तथा स्नातकोत्तर तहमा समेत फार्मेसीका कार्यक्रम सञ्चालनमा छन् । विगत २५ वर्षदेखि क्रिमसन कलेजले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आएको सञ्चालक समिति सदस्य कृष्णप्रसाद अर्यालको दाबी छ ।