आन्तरिक हवाइ उडान सुरु

मेचीकाली संवाददाता

१७ असार २०७८, बिहीबार
440 shares

काठमाडौं, असार १७ । करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागूगरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् ।

त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । बिहीबार बिहानैदेखि चार उडान कम्पनीले उडान शुरु गरिसकेका छन् । ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका हुन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरको ३१, यती एयरले १५, श्री एयरले १० र सौर्य एयरले ३ उडानको स्वीकृति पाएका छन् भने, बाँकी सीता, तारा, समिट लगायतका एयरलाइन्सले कति फ्लाइट पाउने टुंगो लागिसकेको छैन । विमानस्थलले आन्तरिक उडानमा यात्रुको भीडभाड कम गर्न तथा वर्षात्को समयलाई समेत ध्यानमा राखी आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आजदेखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको हो ।