

अमृत गिरी
बुटवल। विश्वमा प्रमाणित, सुरक्षित र प्रभावकारी मानिएको आर्थोस्कोपी प्रविधिको सफल प्रयोग बुटवलमै भएको छ । अत्याधुनिक दूरबिन प्रविधिलाई चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि मानिन्छ । यद्यपि सहज र सुलभ बनाउन भने जरुरी छ ।
चिकित्सा विज्ञानको क्षेत्रमा भित्रिरहेको नयाँ प्रविधिले उपचार सेवालाई सहज, छिटोछरितो र गुणस्तरीय बनाउँदै लगेका बेला बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आथ्र्रोस्कोपीको नयाँ प्रविधिबाट सफल उपचार भएको छ ।
अब लुम्बिनी प्रादेशिक अस्पतालबाटै सेवाप्रवाह हुनेगरि हाडजोर्नी उपचार क्षेत्रमा यो विश्वस्तरीय प्रविधिबाट सेवा प्रवाह सुरुवात भएको छ । अत्याधुनिक दुर्बिन प्रविधि (आर्थोस्कोपी) प्रयोग गरेर घुँडा मात्र नभई कुमको जोर्नीसमेत शल्यक्रिया गर्न सकिने भएको छ ।
यो नयाँ प्रविधिबाट बिरामीको सफल उपचार भएको प्रमाणित भइसकेको छ । हाडजोर्नी, स्पोट्र्स इन्जुरी तथा आथ्र्रोस्कोपी विशेषज्ञ डा.आलोक थैवको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टिमले प्रादेशिक अस्पतालमै यस्तो प्रविधिबाट सफल उपचार गरेको हो ।
विश्वमा अलि पहिले र नेपालमा केही दशकअघि आएको यो सेवा बुटवलमा भने अहिले बल्ल आइपुगेको छ । आर्थोस्कोपी प्रविधिद्वारा मानव शरीरमा भएका कुनै पनि जोर्निहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव भएता पनि घुँडाको र कुमको समस्याको उपचार नेपालमा मुख्यतय गरिन्छ ।
अहिले बुटवलमा गरिएको सफल उपचार कुमको जोर्नीको हो । कुमको जोर्नीमा प्राय हुने समस्याका रुपमा पटक–पटक कुमको जोर्नी खुस्किन्नेलाई मानिन्छ । यसका साथै जोर्नीलाई चलाउने मांशपेशी च्यातिएर कुम चलाउन नमिल्ने अवस्था भएमा, जोर्नी जाम हुने समस्या भएमा वा इम्पिन्जमेन्ट सिन्ड्रोम भएमा यहीँ प्रविधिबाट उपचार सम्भव रहेको विशेषज्ञहरु बताउँछन् ।
यस्तै जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा तथा जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा यो नयाँ विधि अर्थात् दूरबीनबाट उपचार गरिन्छ । बुटवलका ती युवा बिरामीको कुम पटक पटक फुस्किने समस्या थियो । जसको यहीँ प्रविधिबाट उपचार भएको छ ।
आथ्र्रोस्कोपीलाई अहिले विश्वकै अग्रणी शल्यक्रिया प्रविधिमध्ये एक आधुनिक विधि मानिन्छ । ‘अमेरिकन अकादमी अफ ओर्थोपेडिक सर्जन्स (आओस्)’ को हालैको तथ्यांकअनुसार अमेरिका भित्रै हरेक वर्ष करिब ४० लाखभन्दा बढी आथ्र्रोस्कोपिक शल्यक्रिया हुन्छन् ।
छिमेकी मुलुक भारत, युरोप, जापान, दक्षिण कोरिया जस्ता मुलुकमा यो प्रविधि लामो समयदेखि नियमित अभ्यासमा रहेपनि नेपालमा भने केहि वर्ष अघि मात्रै आएको हो । बुटवलमा भने केही दिनअघि मात्रै यो विधिबाट सफल उपचार सम्भव भएको छ । अब आधुनिक स्वास्थ्यको यो नयाँ प्रविधिको सुविधा लुम्बिनी प्रादेशिक अस्पतालमै नियमितरूपमा उपलब्ध हुने र यसका लागि यहीँ विषयमा पढेका विशेषज्ञ युवा डाक्टरको टिम तयार पारिएको अस्पतालका मेसु डा.इन्द्र ढकालले जानकारी दिए । यो सेवालाई स्वास्थ्य बीमा कार्यक्रमभित्र ल्याउने बारेमा पनि सम्बन्धित निकायमा कुराकानी भइरहेको मेसु डा.ढकालले बताए ।
हालै अस्पतालमा हाडजोर्नी, स्पोट्र्स इन्जुरी तथा आथ्र्रोस्कोपी विशेषज्ञ डा. थैवको नेतृत्वमा रहेको टिमले २१ वर्षीय युवकको बारम्बार फुत्किरहने कुमको सफलतापूर्वक उपचार गरेको थियो । यसप्रकारको उपचारलाई ‘आथ्र्रोस्कोपिक बैंकआर्ट मर्मत’ भनिन्छ, जुन विश्वभर जटिल शल्यक्रियामध्ये एक मानिन्छ । छोटो चिरा लगाएर हुने शल्यक्रियामा रक्तश्राव न्यून हुने, घाउ चाँडो निको हुने, शल्यक्रियापछि हुने पीडा कम हुने तथा बिरामी छिट्टै सामान्य जीवन र खेलकुद गतिविधिमा फर्किन सक्ने सुविधा हुने विशेषज्ञ डा.थैब बताउँछन् ।
बुटवलमा यो विषयका विज्ञका रुपमा डा.थैव र अर्का डाक्टर उत्सव रेग्मी रहेका छन् । युवा डाक्टर थैव बुटवलकै बासिन्दा हुन् । उनले यस विषयमा राष्ट्रिय ट्रमा सेन्टर, काठमाण्डौ विश्वविद्यालय, बी एण्ड बी अस्पताल लगायतका प्रतिष्ठित स्वास्थ्य संस्थामा अध्ययन्, फेलोसिप र अनुभव हासिल गरेका छन् ।
के हो आथ्र्रोस्कोपी सर्जरी भनेको ?
दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो–सानो प्वाल पारेर दुरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिन्छ । यो अङ्ग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दुरबिनको सहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई आथ्र्रोस्कोपी प्रविधि भनिन्छ ।