भद्रकाली सहकारीद्धारा निःशुल्क मृगौला परीक्षण र औषधि वितरण

मेचीकाली संवाददाता

१२ कार्तिक २०८२, मंगलवार
34 shares

बुटवल । बुटवल–१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोगको परीक्षण तथा औषधि वितरण गरेको छ । नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको बेलैमा पहिचान गरी निराकरण गर्न सकियोस भन्ने उद्देश्यसहित सहकारीले आफ्नै प्रधान कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । नेपाल किड्नी फाउन्डेसनको सहकार्यक्रमा सहकारी सदस्य र अन्य व्यक्ति गरी ३०० भन्दा बढीको जाच र औषधि वितरण गरिएको सहकारी अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए ।
यस क्षेत्रका मृगौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत र विदेशका अन्य विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी गरी १५ जनाको टिमले चेकजाच गरेको थियो । अत्याधुनिक प्रविधिबाट रगत, पिसाब र क्रिटिनाइन जाँच गरी तुरुन्तै रिर्पोट प्रदान गरिएको सहकरीका उपाध्यक्ष गीता भण्डारीले जानकारी दिइन । डा. बस्नेतले ८० प्रतिशत मृगौला खराब भएपछि मात्र लक्षण देखिने गरेको बताउदै ४० वर्ष उमेर पार गरेका सबै नागरिकले हरेक वर्ष किड्नी चेकजाच आवश्यक रहेको बताए ।
सहकारीले विभिन्न समयमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत काम गर्दै आएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा ६ हजार ११८ शेयर सदस्य र ६ वटा शाखा कार्यालय पनि सञ्चालनमा छन् । शिविरमा चेकजाच गरेको डम्बर भण्डारीले सहज र छिटो चेकजाँचले सेवाको लागि लिन पाइएको बताए । उनले यस्ता शिविर समय समयमा गर्न आवश्यक रहेकोमा पनि जोड दिए ।
यस्तै नेपाल किडनी फाउन्डेसनले मंगलबारको सेमलारसहित रुपन्देहीमा चार वटा शिविर सञ्चालन गर्ने भएको छ । विगत एक दशकदेखि मृगौला रोगको क्षेत्रमा काम गर्दै आएको फाण्डेसनले बुटवल, लुम्बिनी र छपियामा पनि लगायतार शिविर राखिनेमा फाउन्डेसनका अध्यक्ष शक्ति बस्नेतले जानकारी दिए । फाउन्डेसनले चार वटा शिविरबाट १ हजार २०० जनालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ छ । दश वर्षमा फाउन्डेसनले ३० हजारको चेकजाच र परीक्षण गरेको बताए ।