सत्य र जनपक्षीय पत्रकारिताको अविराम यात्रा

मेचीकाली संवाददाता

२९ मंसिर २०८२, आईतवार
13 shares

वि.सं.२०५७ साल मंसिर ३० गतेदेखि निरन्तर प्रकाशन हुँदै आएको मेचीकाली सन्देश राष्ट्रिय दैनिक आज २५ वर्ष पूरा गरी २६ औँ वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती वर्ष सफलतापूर्वक पूरा गरी अब अर्को खुड्किलोतर्फ अघि बढ्ने यस महत्वपूर्ण मोडमा हामी पाठक, विज्ञापनदाता, शुभेच्छुक र सम्पूर्ण सञ्चारकर्मीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
नेपाली समाजको परिवर्तन र विकास यात्रामा मेचीकाली सन्देश सधैँ जनताको आवाजलाई प्राथमिकतामा राख्दै सत्य, न्याय, लोकतन्त्र र मानव अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । विभेद, अन्याय, निरंकुशता, भ्रष्टाचार र बेथितिविरुद्ध निर्भीक पत्रकारितामार्फत खबरदारी गर्दै, सकारात्मक र जिम्मेवार पत्रकारिताको अभ्यासलाई हामीले आफ्नो पहिचान बनाएका छौँ ।
लोकतान्त्रिक गणतन्त्र स्थापना होस् वा त्यसअघि पछिका परिवर्तनका लागि भएका जेनजीलगायतका विभिन्न खालका क्रान्ति र आन्दोलनको घडीमा मेचीकाली जनताका जायज संघर्षसँगै उभियो । हिंसा, अराजकता र असत्यको पक्षपोषण नगरी शान्ति, सद्भाव, विवेक र मानवताको पक्षमा तथ्यमा आधारित समाचार र विचार प्रस्तुत गर्नु हाम्रो अडान रहँदै आएको छ । जनपक्षीय, जवाफदेही र जिम्मेवार पत्रकारिता नै मेचीकाली सन्देशको मूल मिशन हो ।
चार पृष्ठको श्याम–श्वेत संस्करणदेखि आजको रंगीन ब्रोडसिट र डिजिटल प्लेटफर्मको अनलाइनसम्म आइपुग्दा पनि मेचीकालीको आफ्नै शैली, मूल्य र सम्पादकीय नीति अडिग छ । संविधान, कानुन, आचारसंहिता र व्यावसायिक मर्यादालाई आत्मसात् गर्दै हामी पारदर्शी र विश्वासिलो आमसञ्चार माध्यमका रूपमा निरन्तर सक्रिय छौँ । हामीले सगौरव भन्छौं–मेचीकालीले उठाएका विषयहरूले समाजलाई पटक–पटक सचेत गराएका छन् र परिवर्तनका लागि उत्प्रेरित गरेका छन् ।
नयाँ राजनीतिक व्यवस्थापछि पनि समाजका विसंगति, बेथिति र भ्रष्टाचारविरुद्ध मेचीकाली सन्देशको अभियान अविराम छ । जनताको जीवनस्तर सुधार, सुशासनको प्रवद्र्धन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउनु हाम्रो सम्पादकीय प्रतिबद्धता हो ।
आजको २६ औँ वार्षिकोत्सवको अवसरमा, मेचीकाली सन्देश सत्य र न्यायको सारथी बनेर जनताको विश्वासलाई अझ बलियो बनाउँदै अघि बढ्ने दृढ संकल्प पुनः व्यक्त गर्दछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई केन्द्रमा राख्दै हामी सचेत, जिम्मेवार, सत्यनिष्ठ र जनपक्षीय पत्रकारितामा निरन्तर प्रतिबद्ध रहनेछौँ । मेचीकाली सन्देश–सत्य र सकारात्मकताको साथमा ।
होमराज बस्याल
अध्यक्ष