बुटवलमा देशभरिका लोक सांस्कृतिक नृत्यहरूको महामेला

जेठ २२ गते ४०० भन्दा बढी कलाकार सहभागी हुने

मेचीकाली संवाददाता

२० जेष्ठ २०८३, बुधबार
77 shares

बुटवल । नेपालका विभिन्न भूगोल, जाति, समुदाय र संस्कृतिको प्रतिनिधित्व गर्ने लोक सांस्कृतिक नृत्यहरूको भव्य महामेला बुटवलमा आयोजना हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल, रूपन्देही जिल्ला समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा जेठ २२ गते शुक्रबार बुटवलको देवसिद्धचोकस्थित थ्री पोइन्ट गार्डेन प्रालिमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सुन्दर गुरुङले लुम्बिनी प्रदेशका ६ जिल्लासहित प्रदेश बाहिरका ४ जिल्लाका सांस्कृतिक तथा लोकनृत्य समूहहरूको सहभागिता रहने बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रका लोकनृत्यहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै सांस्कृतिक आदान–प्रदान, आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
महामेलामा पूर्वी नेपालको साकेला नृत्य, राजधानी क्षेत्रको नेवारी नृत्य, पौराणिक ताण्डव नृत्य, मध्य पहाडी क्षेत्रका कौडा र घाँटु नृत्य, तराईको थारू नृत्य तथा पश्चिम नेपालको हुड्के लोक नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश हुनेछन् । यसका अतिरिक्त बुटवल क्षेत्रका विभिन्न जातीय समुदायका लोकनृत्य तथा केही विद्यालयका सांस्कृतिक समूहहरूको पनि सहभागिता रहने नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए ।

उनका अनुसार प्रदेश तथा विभिन्न जिल्लाबाट आउने नृत्य समूहहरूको समन्वय कार्य भइरहेको छ । कार्यक्रममा ३० देखि ४० वटा नृत्य समूह सहभागी हुनेछन् भने प्रत्येक समूहमा ६ देखि २० जनासम्म कलाकार रहनेछन् । कुल सहभागी कलाकारहरूको संख्या करिब ४०० पुग्ने अनुमान गरिएको शाहले बताए । कार्यक्रम व्यवस्थापनका लागि मीना बुढाथोकीले आर्थिक संयोजनको जिम्मेवारी सम्हालेकी छन् भने कार्यालयीय व्यवस्थापन तथा समन्वयको जिम्मा दावा शेर्पाले लिएका छन् ।

त्यस्तै, प्रदेश कोषाध्यक्ष रजनी श्रेष्ठका अनुसार कार्यक्रममा करिब एक हजारभन्दा धेरै दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । देशका विभिन्न क्षेत्रका मौलिक कला, संस्कृति, भेषभूषा र परम्परागत नृत्यहरू एउटै मञ्चमा अवलोकन गर्न पाइने भएकाले कार्यक्रम सांस्कृतिक पर्यटन प्रवद्र्धन र नेपाली मौलिक संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण हुने विश्वास आयोजकको छ । आयोजकले नेपाली लोकसंस्कृतिको विविधता, मौलिकता र सौन्दर्यलाई नजिकबाट अवलोकन गर्न सम्पूर्ण कला, संस्कृति प्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।