कपिलवस्तुमा फैलियो झाडापखलाः २ जनाको मृत्यु, २ सय बढी बिरामी

मेचीकाली संवाददाता

१९ आश्विन २०७८, मंगलवार
719 shares

बुटवल । कपिलवस्तुको कृष्णनगरमा झाडापखलाको प्रकोप फैलिएको छ । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामी बढेको छन् ।

जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । कृष्णनगर भारतसँग नजिककै पर्छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ ।

स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने, ‘२ जनाको मृत्यु भएको भन्ने आएको छ । एक जना घरमा एक जना मेडिकलमा । पिउने पानी प्रदुशित हुँदा प्रकोप फैलिएको जानकारीमा आयो । कहाँबाट फैलियो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडा पखाला फैलिएको जानकारी आएको बताए ।

उनले भने, स्वास्थ्य कार्यालय र बुटवलबाट पनि स्वास्थ्यको टोली आएको छ । जिल्लाका शिवराज, कपिलवस्तु अस्पतालमा बिरामीको उपचार भइरहेको र केही बिरामीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ ।’