बुटवल । रूपन्देही प्रहरीले विशेष सूचनाको आधारमा गत आइतबार बुटवलको एक गोदाममा छापा मारेर ८२ लाख मूल्य बराबरको तस्करीको जुत्ताचप्पल बरामद ग¥यो । राजश्व छली गरेर भारतबाट भित्र्याइएका ठुलो परिमाणका सामान बरामदपछि यस क्षेत्रमा संगठित तस्करी मौलाएको छताछुल्ल भयो । तस्करीको सामान बरामद गरे पनि प्रहरीले तस्करलाई भने समाउन सकेको छैन । यसले प्रहरीको भूमिकामा पनि प्रश्न उठेको छ ।
८२ लाखको जुत्ता चप्पल बरामद गरेको दुई दिनअघि बुटवलबाटै २५ लाखको अवैध घण्टी, कपडा र ती सामान तस्करी गर्न प्रयोग भएको लु १ च ४९१५ नम्बरको भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । यी दुईओटा घटनाले पछिल्लो समय लुम्बिनीमा तस्करी मौलाउँदै गएको देखिन्छ । सीमा नाकाबाट हुने अवैध आयात, भन्सार छली र सामान ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएको दाबी गर्छ । तर, ग्रामीण तथा सहायक बाटो प्रयोग गरेर तस्करी हुने क्रम भने नरोकिएको पछिल्ला घटनाले देखाउँछ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले विगतभन्दा चोरी तस्करी धेरै नियन्त्रण भएको दाबी गरे ।
‘चोरीतस्करी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी, घुमुवा ‘मोभिलाइन’ छ,’ डीएसपी श्रीवास्तवले भने,‘केही लुकिछिपी तस्करी भइरहेको पनि देखिन्छ । ठुला सहर र सीमावर्ती जिल्लाका प्रहरीले तस्करी मात्र हेरेर पुग्दैन । ‘मल्टिपल’ क्षेत्र हेर्नुपर्छ तर यस्ता गतिविधि नियन्त्रणमा सधैँ चनाखो रही काम गरिरहेको छ ।’
सरकारले सीमावर्ती बजारबाट किनमेल गर्दा ५०० रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार गर्ने गरी कडाइ गरेको छ । जसले गर्दा पनि खुला क्षेत्रबाट खाद्यान्न, कपडा, जुत्ताचप्पल, कस्मेटिक सामान तस्करी बढेको देखिन्छ ।
रूपन्देही प्रहरीले आर्थिक वर्ष २०८२÷०८३ मा १० करोड बढीको तस्करीका सामान र तस्करीका लागि प्रयोग भएको साधन बरामद गरी भन्सार बुझाएको थियो । यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले बढी हो ।
मंगलबार मात्रै भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ६२ लाख मूल्यको कपडासहितको ट्रक प्रहरीले नवलपरासीबाट नियन्त्रणमा लिएको थियो । २१ लाख ६० हजार बराबरका विभिन्न रङका एक हजार थान कुर्था सुरुवाल, ३६ लाख ४० हजार बराबरका १४ हजार ५६२ मिटर काँचो कपडा र ४ लाख ५० हजार बराबरका १ हजार ५०० थान साडी ट्रकमा थिए ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी डीएसपी अनिल पण्डितले बरामद भएको कपडा, ट्रक र चालकसहितलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जानकारी दिए । नवलपरासीमा लागुऔषध ओसारपसारको चुनौती पनि उस्तै छ । तस्करी नियन्त्रणका लागि मुख्य नाकामा सुरक्षाकर्मी परिचालन भए पनि तस्करले ग्रामीण सडक, खेतको बाटो र मुख्य नाकाबाट केही पर रहेका सहायक मार्ग प्रयोग गर्ने गरेका छन् । यसले मुख्य नाकामा मात्रै हुने निगरानी प्रभावकारी नहुने देखाएको छ ।
भन्सारमा सशस्त्र र भन्सारका कर्मचारीले चेकजाँच गर्छन् । भन्सारबाटै अवैध सामान छिरेर टाढाटाढा पुग्दासमेत प्रहरीले सुइँको पाउँदैन । बाँकेको कोहलपुरमा सोमबार प्रहरीले लागुऔषध ओसारपसार गर्ने समूहलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको थियो । ठुलो परिमाणमा अफिम र चरेस नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले हवाई फायर गरेको थियो । हवाई फायरपछि रुकुमपूर्वका कर्णबहादुर बुढा र कोहलपुरका टाइपसिंह गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।
लुम्बिनीका भारतसँग खुला सीमा जोडिएका रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, पश्चिम नवलपरासी र दाङ छन् । रूपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, नवलपरासीको महेशपुर, बाँकेको जमुनी, दाङको कोइलाबासलगायत केही नाकाबाट कपडा, रेडिमेड सामान, इलेक्ट्रोनिक सामग्री, मोटरसाइकलका पार्टपुर्जा, खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्रीको अवैध आयात हुने गरेको गुनासो छ ।
कपिलवस्तुमा पनि गाईगोरु तस्करी चुनौतीपूर्ण रहेको बताइएको छ । कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले भने भन्सारमा अवैध कारोबार र राजस्व छली रोक्न जाँचलाई चुस्त बनाएको दाबी गरे । ‘हामीले सबै क्षेत्रमा कडाइ गरेका छौं, हाम्रो जिल्लाबाट त्यस्तो चोरी तस्करी खासै छैन । गाईगोरु तस्करी पनि छैन,’ एसपी भट्टले भने ।
तस्करी बढ्नुको प्रत्यक्ष असर राज्यको राजस्व संकलनमा परेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले ५०० रुपैयाँभन्दा बढीको सामान ल्याउनेलाई अनिवार्य भन्सार गरिएको बताए । ‘सुरूमा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार थियो । पछिल्लो समय अलि खुकुलो बनाएर ५०० रुपैयाँसम्म पु¥याइएको छ,’ ढुंगाना भन्छन्, ‘यसले गर्दा राजस्व संकलन बढेको छ । सँगै भारतीय बजारमा किनमेलका लागि लाग्ने भीड घटेको छ । यसले नेपाली व्यवसायी पनि खुसी छन् ।’
तस्करी गरेर भारतबाट भन्सार नतिरी सामान भित्रिँदा वैधानिक व्यापार गर्ने व्यवसायीसमेत प्रभावित भइरहेका छन् । यसले अवैध रूपमा आएका सामानले प्रतिस्पर्धाको असमान अवस्था सिर्जना गर्ने गरेको उनीहरूको भनाइ छ । त्यसका साथै तस्करीसँगै अन्य आपराधिक गतिविधि विस्तार हुने जोखिमसमेत बढाएको छ । पटकपटक ठुलो परिमाणमा अवैध सामान बरामद भइरहनुले तस्करी नियन्त्रणको अभियान अझै चुनौतीपूर्ण रहेको देखाउँछ । सीमा क्षेत्रमा नियमित गस्ती, सहायक बाटोको निगरानी, सुरक्षा निकायबीच प्रभावकारी समन्वय र तस्करीमा संलग्न मुख्य कारोबारीसम्म पुग्ने अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ । लुम्बिनी प्रदेशको भारतसँग जोडिएको सीमा क्षेत्र करिब ४३५ किलोमिटर रहेको छ ।
