बुटवल । बुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तारको काम केही स्थानीयको अवरोधका कारण रोकिएको छ । सडक सीमाभित्र बनेका घरधनीले संरचना हटाउन नमानेपछि लामो समयदेखि सडक विस्तारको काम अलपत्र परेको हो ।
बुधबार सडक सीमाभित्र अतिक्रमण भएको क्षेत्र छुट्याएर पुनः नापजाँच तथा रेखाङ्कन गर्न पुगेको वडाध्यक्षसहितको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सडक विस्तारका लागि पटकपटक प्रयास भएपनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए । उनका अनुसार मिलनचोकदेखि सुन्दरचोकसम्म करिब १८० मिटर सडक यसअघि नै विस्तार भइसकेको छ । बाँकी रहेको करिब १५० मिटर सडक भने स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको छैन ।
मिलन पथमा वि.सं २०५६ सालमै ४१ फिट सडक कायम गरिएको भए पनि सडक क्षेत्रमा बनेका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भएको वडाध्यक्ष पंगेनीले बताए । ‘यो क्षेत्रमा पर्ने केही घरधनीले सडक क्षेत्रमा परेका संरचना हटाइसक्नुभएको छ । बाँकी रहेका केही घरका कारण बजेट हुँदाहुँदै पनि सडक सम्पन्न हुन सकेको छैन,’ उनले भने ।
यसअघि प्रदेश सरकारको ५० लाख र वडा कार्यालयको १८ लाख रुपैयाँ बजेटबाट सडक विस्तारको काम गरिएको थियो । सडक विस्तारका लागि बजेट विनियोजन भए पनि स्थानीयको अवरोधका कारण पटकपटक बजेट फिर्ता गएको वडाध्यक्ष पंगेनीको भनाइ छ । चालू आर्थिक वर्षमा पनि सडक सम्पन्न गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्थानीयले भने पहिले नै निर्माण भइसकेका संरचना हटाउँदा आफूहरूको सहमति र अधिकारलाई बेवास्ता गर्न नहुने बताएका छन् । स्थानीय टुकबहादुर क्षेत्रीले पञ्चायतकालमै नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण भएकाले अहिले स्थानीयको सहमतिबिना घर भत्काउन नहुने बताए । ‘त्यतिबेला नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण गरिएको हो । अहिले नगरपालिकाले विभिन्न मापदण्डका नाममा स्थानीयको सहमतिबिना घर भत्काउन पाउँदैन,’उनले भने,‘हामी विकास विरोधी होइनौँ तर विकास निर्माण गर्दा स्थानीय जनताको भावनालाई पनि बुझ्नुपर्छ ।’
सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा साँघुरो तथा अव्यवस्थित सडकका कारण आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । सडक व्यवस्थित नहुँदा गएको फागुनयता मात्रै पाँचवटा दुर्घटना भएको मिलन पथ टोल विकास संस्थाकी अध्यक्ष पुनम रजाली मगरले बताइन् । उनका अनुसार दुर्घटनामा परी एक युवकले ज्यानसमेत गुमाएका छन् । बजेट विनियोजन भइरहे पनि सडक सीमामा रहेका संरचना हटाउने विषयमा सहमति जुट्न नसक्दा विकास निर्माणको काम लामो समयदेखि प्रभावित भएको छ ।
