संकास्पद मृत्यु भएका पूर्वमेयर सिंहको के आयो रिपोर्ट ?

मेचीकाली संवाददाता

४ भाद्र २०८३, बिहीबार
4 shares

बुटवल, । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आएको छ । उक्त रिपोर्टमा सिंहको मृत्यु शव फेला पर्नुभन्दा ३६ घण्टा अघि नै भएको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

पूर्वमेयर सिंह गत साउन २२ गते बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक वनमा सम्पर्कविहीन भएका थिए । प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा साउन २३ गते पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लुम्बिनी प्रदेश ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

प्रहरी, स्थानीयबासी र तालिमप्राप्त कुकुरसहितको टोलीले समेत खोजी गरेपनि सिंहलाई फेला पर्न सकेका थिएनन् । साउन २४ गते मोटरसाइकल भेटिएको स्थानभन्दा करिब ७ सय मिटरको दूरीमा झाडीभित्र सिंहको शव फेला परेको थियो । शवसँगै मोबाइल, हेल्मेट, पर्स, बाइकको चाबीसमेत फेला परेको थियो ।

शव फेला परेपछि साउन २४ गते नै पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । पोस्टमार्टमको पहिलो रिपोर्टअनुसार सिंहको शरीरमा कुनै चोटपटकको निशानी नदेखिएको प्रहरी उपरीक्षक भट्टले बताए । रिपोर्टमा मृत्युको कारणसमेत अझै स्पष्ट रूपमा नखुलेको उनले बताए । ‘उहाँको मृत्यु जंगलमा हराएको समय आसपासमै भएको रिपोर्ट आएको छ’, प्रहरी उपरीक्षक भट्टले भने, ‘मृत्यु स्वाभाविक वा हत्या हो भन्ने अझै यकिन भइनसकेको छैन । दोस्रो ल्याव रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्ट आएपछि मात्रै अन्य कुराहरू खुल्छ ।’

यस घटनामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए । ‘विभिन्न व्यक्तिहरूसँग सोधपुछ, मोबाइलको परीक्षण तथा अन्य विभिन्न कोणबाट घटनाको सूक्ष्म अनुसन्धान गरीरहेका छौँ ।’ प्रहरी उपरीक्षक भट्टले भने ।

अनुसन्धानका क्रममा सम्पर्कविहीन भएको दिन सिंहले दिउँसो ३ बजेर २९ मिनेटदेखि ५ बजेर ५३ मिनेटसम्म विभिन्न व्यक्तिहरूसँग मोबाइलमा सम्पर्क गरेको पाइएको प्रहरी उपरीक्षक भट्टले बताए । सिंहले फोनमा सबैसँग आफू जंगलमा अलमलिएकोले बचाउन आउन भनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जंगलछेउमा निर्माणाधीन फार्मको अवलोकनका लागि त्यसतर्फ जाने क्रममा पूर्वमेयर सिंह हराएका थिए । उनी दम र सुगरका बिरामी रहेको प्रहरीले जनाएको छ । सिंह २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।