बुटवल। बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित बीभावना नेल्स मेकअप स्टुडियोले आफ्नो पाँचौं वार्षिकोत्सव तथा व्यावसायिक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । स्टुडियोले सञ्चालन गरेको नेल्स, नेल्स एक्स्टेन्सन तथा ल्यासेससम्बन्धी दुई महिने व्यावसायिक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिन् ।
कार्यक्रममा उपप्रमुख अर्यालले सौन्दर्यसम्बन्धी सीपमूलक तथा व्यावसायिक तालिमले युवालाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुग्ने बताइन् । उनले सीप सिकेर त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्न सके रोजगारीका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था कम हुने धारणा राखिन् । उनले सौन्दर्य व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सीप, दक्षता र निरन्तर सिकाइ आवश्यक रहेको बताउँदै तालिम लिएका व्यक्तिले आफ्नो सीपलाई आम्दानीको माध्यम बनाउनुपर्नेमा जोड दिइन् । नेपाल ब्युटिसियन संघ तिलोत्तमाकी अन्जना केसी, ब्यूटी होवकी निर्देशक सिता ध्वजूसहितले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले सौन्दर्य व्यवसायमा नयाँ प्रविधि र सीपको विकाससँगै दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताएका थिए ।
संस्थाका सल्लाहकार सन्तोष थापाले सौन्दर्य क्षेत्रमा महिलाको सहभागिता र उद्यमशीलता बढाउन यस्ता व्यावसायिक तालिम उपयोगी हुने बताए । उनले सीपलाई व्यवसायसँग जोडेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीलाई आग्रह गरे । स्टुडियोकी सञ्चालक तथा कार्यक्रमकी अध्यक्ष भावना श्रेष्ठले सौन्दर्यसम्बन्धी व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइन् । उनका अनुसार २०७८ सालमा स्थापना भएको संस्थाले प्रत्येक छ–छ महिनामा तालिम सञ्चालन गर्दै आएको छ । श्रेष्ठका अनुसार हालसम्म संस्थाबाट करिब एक हजार जनाले विभिन्न प्रकारका व्यावसायिक तालिम लिइसकेका छन् ।
पछिल्लो छ महिनाको अवधिमा करिब ६० जनाले तालिम लिएका छन् भने एक वर्षमा १२० देखि १४० जनासम्म प्रशिक्षार्थी सहभागी हुने गरेका छन् । पछिल्लो दुईमहिने तालिममा नेल्स, नेल्स एक्स्टेन्सन र ल्यासेससम्बन्धी व्यावसायिक सीप प्रदान गरिएको छ । बुटवलसँगै बर्दघाट, पाल्पा र भैरहवालगायतका क्षेत्रबाट समेत प्रशिक्षार्थी तालिम लिन आएको संस्थाले जनाएको छ । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट नस्मी सर्ताने र आकांक्षा रामदामले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा शुभचिन्तक श्रेया केसी, पवित्रा श्रेष्ठलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । समारोहमा तालिम पूरा गरेका सबै प्रशिक्षार्थीलाई प्रमुख अतिथि अर्याल र संस्थाकी सञ्चालक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।
