न्यू पाल्पाली सुनचाँदी पसलको सेवा अब नयाँ स्थानबाट

मेचीकाली संवाददाता

६ भाद्र २०८३, शनिबार
5 shares

बुटवल । ग्राहकलाई गुणस्तरीय, विश्वसनीय र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवलको पुरानो सुनचाँदी व्यवसायिक प्रतिष्ठान न्यू पाल्पाली सुनचाँदी पसलले नयाँ स्थानबाट आफ्नो सेवा सुरु गरेको छ ।

वि.सं. २०५७ साल मंसिर ४ गते बुटवल उपमहानगरपालिका–४ अमरपथ (विपि पथ)मा स्थापना भएको पसलले आफ्नो सेवा विस्तार गर्दै गत साउन १७ गतेदेखि बुटवल–६ विपि चोकबाट करिब १०० मिटर दक्षिणतर्फ पूर्ण चैत्य बुद्ध बिहारको अगाडिबाट सेवा सञ्चालनमा ल्याएको हो । नयाँ स्थानबाट सेवा सुरु गरेसँगै ग्राहकलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक एम.बी. विश्वकर्माले बताए ।

स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको पसलले साढे दुई दशकभन्दा लामो यात्रामा हजारौँ ग्राहकको विश्वास जित्न सफल भएको सञ्चालक विश्वकर्माको भनाइ छ । समयक्रममा व्यवसायमा विभिन्न चुनौती र उतारचढाव आए पनि ग्राहकको आवश्यकता र विश्वासलाई प्राथमिकतामा राखेर सेवा निरन्तरता दिइएको उनले बताए ।

सुनचाँदी व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध श्रमिकलाई सीप र दक्षता विकासमा सहयोग गर्दै आएको पसलले हालसम्म ५० जनाभन्दा बढीलाई दक्ष बनाउनुका साथै स्वरोजगारको अवसरसमेत प्रदान गरेको विश्वकर्माले बताए । उनका अनुसार सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई धेरै परिवारको रोजगारी र जीविकोपार्जनसँग जोडिएको क्षेत्रसमेत हो ।

तर, पछिल्लो समय सुनचाँदी व्यवसाय सञ्चालनमा अनेकौँ चुनौती थपिँदै गएको व्यवसायीहरूको गुनासो छ । विशेषगरी सुनचाँदीका कच्चा पदार्थको मूल्यमा हुने निरन्तरको उतारचढाव, सुनको कारोबारमा देखिएको सरकारी नियन्त्रण तथा नीतिगत अस्थिरता, कच्चा पदार्थको सहज उपलब्धतामा देखिने समस्या, व्यवसायको सुरक्षासम्बन्धी चुनौती र व्यवसायीबीच बढ्दो अस्वस्थ प्रतिस्पर्धाले पनि व्यवसाय सञ्चालनमा थप कठिनाइ सिर्जना गरेको उनको भनाइ छ । यस्तो अवस्थामा व्यवसायीको लगानी र सुरक्षालाई ध्यानमा राख्दै सुनचाँदी व्यवसायसम्बन्धी नीति स्पष्ट, स्थिर र व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।

लामो समयदेखि ग्राहकको विश्वासलाई आफ्नो व्यवसायको मुख्य आधार बनाउँदै आएको पसलले नयाँ स्थानबाट पनि गुणस्तरीय सामग्री, उचित मूल्य र भरपर्दो सेवामार्फत ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अर्का सञ्चालक मनिक विश्वकर्माले बताए ।