बुटवल । रूपन्देही व्यापार संघ महिला उद्यमी वस्तुगत उपसमितिको आयोजनामा लत्ताकपडा तथा जुत्ताचप्पल वितरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर उपसमितिले लत्ताकपडा तथा जुत्ताचप्पल वितरण गरेको हो ।
आइतबार मायादेवी गाउँपालिका–४ बनकसिहास्थित लिनसन् बौद्धिष्ट विद्यालयमा एक कार्यक्रमको आयोजना गरी मायादेवी गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका करिब ३० घरपरिवारका विपन्न महिलाहरुका लागि उक्त सामग्रीहरु वितरण गरिएको उपसमिति संयोजक सरिता नेपालले बताइन् । विपन्न तथा आर्थिक रूपमा कमजोर महिलालाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले लत्ताकपडा तथा जुत्ताचप्पल वितरण गरिएको उनले बताइन् । उपसमिति संयोजक नेपालले आगामी दिनमा पनि महिलाको हित र सामाजिक सेवासँग जोडिएका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले सामग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने यस्ता कार्यक्रमले विपन्न समुदायका महिलालाई थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे । संघले निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वलाई वस्तुगत उपसमितिले समेत आत्मसात् गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक र महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रशासन सहायक रामकृष्ण दुसार, लिनसन् बौद्धिष्ट विद्यालयका प्रधानाध्यापक चन्द्रभूषण दुवेदीलगायतले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न महिलालाई सहयोग गरेकोमा महिला उद्यमी वस्तुगत उपसमितिलाई धन्यवाद व्यक्त गरे । उनीहरूले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रम सम्पन्न गर्न बुटवल–४ स्थित फुलबुट्टे कलेक्सनकी पुनम न्यौपाने र भैरव ग्यास सप्लायर्सकी बिना खड्का क्षेत्रीद्वारा लत्ताकपडा तथा जुत्ताचप्पल सहयोग प्राप्त भएको उपसमितिले जनाएको छ । कार्यक्रममा संघका महासचिव प्रकाशराज पौडेल, महिला सचिव बृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य लक्ष्मी भट्टराई, विजय ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपसमिति सचिव गौरी न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
