लिग्जा कलेजको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

८ भाद्र २०८३, सोमबार
111 shares

तुलसीराम पौडेल

सियारी । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–४, छपियामा रहेको लिग्जा कलेजको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेयले आफू भैरहवा क्षेत्रको भए पनि छपिया–मर्चवार क्षेत्रको विकासमा सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त जनाए । पूर्व मन्त्री वसिउद्दीन खाँले कलेजका समस्या समाधानमा आफू सक्रिय रहने बताए ।

सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कलेजका लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै कमी नआउने बताए । वडा नम्बर–४ का अध्यक्ष श्रीराम यादवले आफू वडा अध्यक्षमा निर्वाचित भएदेखि हरेक वर्ष सहयोग गर्दै आएको स्मरण गराउदै यस आर्थिक वर्षमा वडाको तर्फबाट लिग्जा कलेजलाई ५ लाख रुपैयाँ छुट्याएको जानकारी दिए । कलेजका प्रमुख सल्लाहकार कृष्ण प्रसाद भुसालले समयको परिवर्तनसँगै कलेज सञ्चालनमा नयाँ सोच र परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कलेजका प्रमुख लोक शर्मा बस्यालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष हरिबहादुर थापाले आर्थिक वर्ष २०८२÷०८३ को आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष गोपाल पाण्डे, उपाध्यक्ष बुद्धि बन्जाडे, शिक्षा सङ्काय प्रमुख सहायक प्राध्यापक कमला भण्डारी, नेपाली काङ्ग्रेसका युवा नेता आशुतोष मिश्रा लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई वितरण गरिने ११ वटा अक्षयकोषमध्ये बुद्धिनाथ कलावती इन्द्र तिवारी अक्षयकोषका संस्थापक तथा कलेजका वाणिज्य सङ्कायका प्रमुख इन्द्रप्रसाद तिवारीले अक्षयकोषको स्थापनाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहज हुने बताए । सोही अवसरमा कलेजलाई आर्थिक सहयोग गर्ने गाउँपालिका र वडाहरूलाई सम्मान गरिएको थियो । साथै आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउने कलेजका प्राध्यापकहरूलाई पनि सम्मान गरिएको थियो ।

कलेज सञ्चालक समितिमा १५ जना मध्ये ५ जना पदेन र अध्यक्ष १ सहित १० जना निर्वाचित हुने निर्णय गरीएको छ । बाँकी छलफल भदौ १४ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । कार्यक्रम नेपाल पब्लिक कलेज प्राध्यापक संघ लिग्जा कलेज एकाई समितिका सभापति केशवराज पौड्यालको सञ्चालनमा सम्पन्न भएके थियो ।