बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रुपन्देही व्यापार संघको अपिल

मेचीकाली संवाददाता

१० भाद्र २०८३, बुधबार
161 shares

बुटवल । चिनको तिब्बततर्फबाट भोटेकोशी तथा त्रिशुली नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै रुपन्देही व्यापार संघले दुःख व्यक्त गरेको छ ।

संघका अध्यक्ष प्रकाश ढकाल र महासचिव प्रकाशराज पौडेलले बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै रसुवाको टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षति तथा व्यवसायिक प्रतिष्ठान, सीमा नाकामा रहेका व्यवसायीका मालसामान, बजार, सडक, पुल तथा अन्य भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा विपद्मा ज्यान गुमाउने नागरीकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

प्राकृतिक विपद्बाट बेपत्ता तथा प्रभावित नागरिकको तत्काल खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन संघले नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । विपद्को यस घडीमा सम्पूर्ण व्यवसायी तथा अन्य समुदायलाई उद्धार र राहतमा जुट्नसमेत संघले अपिल गरेको छ । त्यसैगरी, सम्बन्धित सरकारी निकायबाट जारी सूचना तथा निर्देशनको पूर्ण पालना गर्दै नागरिकलाई सचेत र सावधानी अपनाएर सुरक्षित रहन संघले आग्रह गरेको छ ।