बुटवल । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीमा परेर बेपत्ता भएकाहरुको खोजिकार्य धमाधम भइरहेको छ । नेपाल प्रहरीका अनुसार बाढी परी बिहीबार साँझसम्म ३८९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा १३७ जनाको शव फेला परेको छ । यस्तै नवलपुरमा ८७, धादिङमा ३३, नुवाकोटमा २८, गोरखामा ३२, तनहुँमा २८, रसुवामा १७, नवलपरासी पश्चिममा २७ वटा शव फेला परेको प्रहरीले जनाएको छ । तर, शवको सनाखत हुन बाँकी छ ।

रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, यो तथ्यांक स्वदेशी र विदेशी दुवैको हो । जसमा सबैभन्दा बढी भारतीय नागरिक १७८ जना छन् । नेपाली नागरिक १२७ जना, अमेरिकी नागरिक ६५ जना, अष्ट्रेलियन नागरिक ३५ जना, मलेसियन नागरिक ५१ जना जापानी नागरिक ५ जना सम्पर्कविहीन छन् ।
त्यस्तै क्यानडाका २५, नेदरल्याण्ड्सका २, फिलिपिन्सका १, फिनल्याण्डका १, न्यूजल्याण्डका ५, काजकिस्तानका २, बेलारुसका १, पोर्चुगललका २, बेल्जिमका ३ जना बेपत्ता भएका छन् । फ्रान्सका ४, रुसका ८, स्वीडेनका १, जर्मनीका ८, सिंगापुरका ९, लाट्भियाका ६, हंगेरीका १, साउद अफ्रिकाका ६, सर्बियाका १, आयरल्याण्डका २, स्पेनका ३, स्वीटजरल्याण्डका १ जना बेपत्ता छन् । त्यसैगरी इजरायका १, युक्रेनका ५३, इटालीका २, लुथिआनियाका १, युेकका ३३ र बुल्गेरियाका १ जना गरी ६४४ जना बेपत्ता छन् ।
पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको हो । यता, गल्छी देखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बन्द अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको र लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखी काम भइरहेको जनाएको छ । मन्त्रालयले बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी गराएको छ । सरकारसँग ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज रहेको र सम्भावना तथा आवश्यकताको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाउने जानकारी दिएको छ ।
भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको भनिएको छ । ‘पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ,’मन्त्रालयले भनेको छ,‘त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ ।’ वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको बताइएको छ ।
