बुटवल । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो रकम हस्तान्तरण गरीएको जनउत्थान साकोसका अध्यक्ष गिरी प्रहाद पुनले जानकारी दिए । संस्थाका पुर्व अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेलको उपस्थीतिमा उक्त रकम हस्तान्तरण गरीएको हो ।
संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने जनाएको हो । प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष पुनले बताए ।
संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । संस्थाको साधारण सभाले विपत्तिको समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो । सोही अख्तियारीअनुसार हरेक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पुनले बताए । शनिबार प्रमुख जिल्ला अधिकारी मार्फत सो रकमको चेक हस्तान्तरण गरीएको संस्थाका उपाधयक्ष सरु रानाले बताइन ।
सहयोग अन्तर्गत ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले जानकारी दिए ।
संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको जनाएको छ । सहयोग रकम नेफ्स्कूनमार्फत सम्बन्धित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिने संस्थाले जानकारी दिएको छ । सस्थाले आफ्ना सदस्यका लागी मात्र नभएर हरेक नागरीकको बिपदमा मलम लगाउन सक्दो प्रयास गरेको अध्यक्ष गिरीको भनाई छ ।
