बाढीपीडितलाई सियारी गाउँपालिकाको २८ लाख सहयोग

मेचीकाली संवाददाता

१७ भाद्र २०८३, बुधबार
12 shares

तुलसीराम पौडेल

सियारी । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेका नागरिकको राहतका लागि रुपन्देहीको सियारी गाउँपालिकाले २८ लाख बढी रकम सहयोग गरेको छ । जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको तलब तथा सुविधा कटाएर जम्मा २८ लाख ९ हजार ४ सय ९७ रुपैयाँ संकलन गरीएको हो ।

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो १ महिनाको सेवा सुविधा बापतको ३३हजार ५ सय रुपैयाँ व्यक्तिगत रूपमा उपलब्ध गराएका छन् । उनी सहित उपाध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले पनि सेवा सुविधा कटाएर सहयोग गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र अध्यक्ष घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार कुल संकलित रकम मध्ये गाउँपालिका, वडा तथा जनप्रतिनिधिबाट ५ लाख ८२ हजार ३ सय ५० रुपैयाँ संकलन भएको छ। जसमा विपद व्यवस्थापन कोषबाट २ लाख ५० हजार, ५ नं। वडा कार्यालयको तीज कार्यक्रम शीर्षकबाट ७५ हजार र उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरुको १५ दिन तथा गाउँ सभा सदस्यहरुको ७ दिन बराबरको सेवा सुविधा बाट २ लाख २३ हजार ८ सय ५० रुपैयाँ रहेको छ।

यसैगरी स्वास्थ्य सेवा सहितका कर्मचारीहरुले पद अनुसार १ देखि ७ दिनसम्मको तलबबाट ८ लाख ३१ हजार २ सय ३० रुपैयाँ र शिक्षकहरुले २ देखि ७ दिनसम्मको तलबबाट १३ लाख ९५ हजार ९ सय १८ रुपैयाँ संकलन गरेका छन्।

विज्ञप्तिमा बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभ र बेपत्ता नागरिकको सकुशल उद्धारका लागि नेपाल सरकारसँग अपिल गरिएको छ। गाउँपालिकाले संघसंस्था र आम नागरिकलाई पनि स्वेच्छिक सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।