बाढी पीडितलाई क्रिमसनको ७ लाख ७७ हजार सहयोग

मेचीकाली संवाददाता

१७ भाद्र २०८३, बुधबार
6 shares

बुटवल । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालि र क्रिसमन अस्पतालले रसुवागढी बाढी पीडित नागरिकको सहयोगार्थ ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भोटेकोशी तथा त्रिशुली नदीमा आएको बिनाशकारी बाढीबाट विस्थापित नागरिकलाई राहत तथा पुनर्स्थापना गर्नका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिएको क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

कलेज तथा अस्पतालका चिकित्सक कर्मचारीको एक दिनको तलब तथा कलेज तथा अस्पतालमा यस वर्ष तीजको दरखाने कार्यक्रममा खर्च हुने रकमसहित संस्थाका तर्फबाट थप गरी राहत कोषमा रकम जम्मा गरिएको हो । क्रिमसन कलेज अफ टेक्नोलोजी अन्तर्गत बुटवल११ देविनगरमा क्रिमसन कलेज र तिलोत्तमा ५ मणिग्राममा क्रिमसन अस्पताल सञ्चालनमा छन् ।