बुटवल । भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि दीप बोर्डिङ हाइ स्कूल बुटवल परिवारले ६ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीको तर्फबाट रकम संकलन गरी सहयोग प्रदान गर्न लागिएको हो ।
विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दीप बोर्डिङ परिवारले राहत रकम सहयोग गर्ने बताए ।
विद्यालयले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । चार दशक भन्दा लामो समयदेखि सञ्चालमा रहेको दीप बोर्डिङ देशकै अब्बल शैक्षिक संस्था मानिन्छ ।
