बुटवल । नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नेपाल–भारत सीमा छुट्याउन सांकेतिक रूपमा प्रयोग हुँदै आएको सिमलको रुख बगाएको छ । बुधबार राति आएको बाढीले नेपाल–भारत सीमा छुट्याउने सांकेतिक चिन्हका रूपमा रहेको सिमलको रुख बगाएर लगेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।
नारायणी नदीपारि रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा नेपाल र भारतबीच सीमा विवाद हुँदै आएको छ । विवाद समाधानका लागि नेपाल र भारतका जिल्लास्तरका सुरक्षा अधिकारी तथा स्थानीयको सहभागितामा २०६५ सालमा सिमलको रुखलाई सांकेतिक सीमा चिन्हका रूपमा मान्दै आइएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले बताए ।
तर, सीमा छुट्याउने सांकेतिक आधारका रूपमा रहेको रुख नै बाढीले बगाएपछि सुस्ताको सीमा सुरक्षाको विषय थप जटिल बन्न सक्ने स्थानीयको चिन्ता छ । सीमा स्तम्भसमेत नभएको क्षेत्रमा सांकेतिक सीमा चिन्हसमेत नरहेपछि स्थानीयस्तरमा सीमा विवाद उत्पन्न हुन सक्ने भन्दै सुस्ताबासीले तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
सुस्ता गाउँलाई नारायणी नदीको बाढीबाट जोगाउन सरकारले १३२ मिटर तटबन्ध निर्माणको काम अघि बढाएको थियो । तर, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तटबन्ध निर्माणमा अवरोध गरेपछि काम रोकिएको स्थानीयको भनाइ छ । तटबन्ध निर्माण रोकिएको सोही क्षेत्रबाट बाढी पसेको हो ।
सुस्ता क्षेत्रमा हाल २२० घरधुरीका एक हजार ४५७ जनाको बसोबास रहेको छ । बाढीले सांकेतिक सीमा चिन्ह नै बगाएपछि सुस्ताबासीमा बाढीको जोखिमसँगै सीमा सुरक्षालाई लिएरसमेत चिन्ता थपिएको छ ।
