गणेश ज्ञानज्योतीमा विद्यार्थी परिषद् निर्वाचन, आर्यन र आस्मा विजयी

मेचीकाली संवाददाता

१८ भाद्र २०८३, बिहीबार
2 shares

तुलसीराम पौडेल

सेमलार । रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ सेमलार स्थित गणेश ज्ञानज्योती पब्लिक हाइस्कुलमा मंगलबार विद्यार्थी परिषद निर्वाचन सम्पन्न भएको छ। निर्वाचन पश्चात् नव निर्वाचित पदाधिकारीहरुलाई विद्यालयका प्राचार्य कुलराज शर्माले शपथ ग्रहण गराएका थिए ।

विद्यालयमा भएको निर्वाचनमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूसँगै शिक्षक र कर्मचारीहरुले समेत मतदान गरेका थिए। कुल २१५ मतदाता रहेकोमा १९५ जनाको मत खसेको थियो।

निर्वाचनमा छात्र नायक र छात्रा नायक गरी २ पदका लागि ५ वटा विद्यार्थी समूह र २ जना स्वतन्त्र गरी जम्मा ७ पक्षले उम्मेदवारी दिएका थिए।

मतगणनापछि अग्रगामी विद्यार्थी एकता समूहका आर्यन केसीले ६५ मत प्राप्त गरी छात्र नायक पदमा विजयी भएका छन्। उनको चुनाव चिन्ह हिमाल थियो। त्यस्तै सृजनशिल विद्यार्थी एकता समूहकी आस्मा रिजालले ७३ मत ल्याएर छात्रा नायक पदमा विजय हासिल गरेकी छन्। उनको चुनाव चिन्ह इन्द्रेणी थियो।

निर्वाचनमा सहभागी अन्य समूहहरुमा नव सोच विद्यार्थी एकता समूह, प्रगतिशील विद्यार्थी एकता समूह र सचेत विद्यार्थी एकता समूह रहेका थिए।

कार्यक्रम विद्यालयका प्राचार्य कुलराज शर्माको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा निर्वाचन सहजकर्ता मेघराज अर्यालले निर्वाचन प्रक्रिया सहज बनाएका थिए भने कार्यक्रम संचालन विद्यालयका सह–प्राचार्य लेखनाथ पौडेलले गरेका थिए।

कार्यक्रममा प्राचार्य शर्माले निर्वाचित विद्यार्थीहरुलाई शपथ ग्रहण गराउँदै जिम्मेवारीप्रति इमान्दार र सक्रिय भएर लाग्न निर्देशन दिए । उनले विद्यार्थी परिषद निर्वाचनको महत्व र लोकतान्त्रिक प्रक्रियाको बारेमा पनि प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेले नव निर्वाचित विद्यार्थीहरुलाई बधाई दिँदै विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय भूमिका खेल्न सुझाव दिए ।