बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा मंगलबार साँझ ढुंगा खसेर लाग्दा दुईजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट अचानक खसेको ढुङ्गा कारमाथि बजारिएको प्रहरीले जनाएको थियो ।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा मंगलबार साँझ करिब साढे ६ बजे ढुंगा खसेको हो । दुर्घटनाग्रस्त कारमा चालकसहित तीनजना सवार थिए । घाइते हुनेहरूमा बुटवल उपमहानगरपालिका–७ दीपनगरकी ३७ वर्षीया जुलन गैरे र जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
घाइते दुवैजनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त कार रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवा बस्ने ३६ वर्षीय राजकुमार लोधले चलाएका थिए । उनी सकुशल रहेका छन् । घटनालगत्तै प्रहरीचौकी दोभानबाट खटिएको टोलीले उद्धार गरेको थियो ।
