रुपन्देही व्यापार संघद्वारा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद

युवा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धनमा जोड

मेचीकाली संवाददाता

१ आश्विन २०८३, बिहीबार
1 shares

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । युवालाई व्यवसायमा प्रवेश गर्न प्रोत्साहित गर्ने, नयाँ व्यवसाय तथा उद्यमका सम्भावना पहिचान गर्ने र स्टार्टअपका लागि आवश्यक सहयोग तथा सहजीकरणका विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले युवा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धनमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका उपनिर्देशक छविलाल घिमिरेले वित्तीय अनुशासन र बजारको अध्ययनबिना कुनै पनि व्यवसाय सफल हुन नसक्ने बताए । व्यवसाय सुरु गर्नुअघि वित्तीय साक्षरता, बजारको अवस्था र लगानीको प्रतिफलबारे स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । ‘व्यवसायलाई सफल बनाउन वित्तीय साक्षरता जरुरी छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सदुपयोग भएमा मात्रै लगानीको प्रतिफल प्राप्त हुन्छ र त्यसले व्यवसायीलाई सफल उद्यमी बन्न सहयोग गर्छ,’ उनले भने, ‘पछिल्लो समय केही ऋणीका कारण बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दै गएको छ । यसले वित्तीय संस्थामाथि समेत चुनौती थपिएको छ ।’

यूवाको बढ्दो विदेश पलायन रोक्ने उद्देश्यले सरकारले तीन वर्षअघि स्टार्टअप कार्यक्रम ल्याएको उनले बताए । नेपालमा रोजगारीका सम्भावना हुँदाहुँदै पनि वर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको उनको भनाइ थियो । ‘नेपालमा वार्षिक करिब पाँच लाख युवा रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्छन् । तर, नेपालका उद्योग तथा व्यवसायमा करिब एक लाख युवाले मात्रै रोजगारी पाउने अवस्था छ,’ उनले भने, ‘बाँकी युवाले स्वदेशमा सम्भावना नदेखेर विदेश जाने अवस्था छ ।’ विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा सामान्य काम गर्न हिचकिचाउने प्रवृत्ति रहेको भन्दै उनले युवालाई विदेश जाने सोँच त्यागेर स्वदेशमै उद्यम गर्नतर्फ लाग्न आग्रह गरे ।

राज्यले व्यवसायीलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गराउन नसक्दा बैंकबाट ऋण लिएर व्यवसायमा लगानी गर्ने वातावरण बन्न नसकेको उनको भनाइ थियो । ‘पछिल्लो समय बैंकमा अर्बौं रुपैयाँ थुप्रिएको छ । तर, बैंकबाट ऋण लिएर लगानी गर्न चाहने व्यवसायी भेटिँदैनन्,’ उनले भने । युवालाई विभिन्न शीर्षकमा विनाधितो ऋण सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले स्वदेशमै उद्यम गर्न चाहने युवालाई आवश्यक सहजीकरण गर्न आफूहरू तयार रहेको बताए ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले युवाले नकारात्मक साँेच त्यागेर स्वदेशमै उद्यम गर्ने योजनाका साथ अघि बढ्नुपर्ने बताए । ‘नेपालमै उद्यम गर्नका लागि प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘विलासी जीवनशैली र स्वतन्त्रताको खोजीका कारण वर्षेनी विदेश पलायन हुने युवाको संख्या बढ्दो छ ।’ थोरै लगानीबाट सुरु गरेको सामान्य व्यवसायले पनि छोटो समयमै सफलता हासिल गर्न सक्ने भन्दै उनले व्यवसाय सुरु गर्ने सोचसँगै धैर्यता र निरन्तरता आवश्यक रहेको बताए ।

संघका सल्लाहकार तथा उद्यमशीलता अभियन्ता प्रा.मुकुन्द ज्ञवालीले लगानी, वित्तीय व्यवस्थापन, उत्पादन र बिक्रीको सुनिश्चितता भएमा मात्रै व्यवसायमा सफल हुन सकिने बताए । उनले स्टार्टअप कर्जाबारे जानकारी गराउँदै त्यसका लागि आवश्यक नीति, नियम, प्रक्रिया र छनोट विधिबारे जानकारी दिएका थिए । उनका अनुसार पछिल्लो तीन वर्षको अवधिमा एक हजार ६८७ जना यूवाले स्टार्टअप कर्जा प्राप्त गरेका छन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले युवालाई स्वदेशमै व्यवसाय गरी उद्यमी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । युवाको सिर्जनशीलता र प्रविधिमैत्री सोचलाई परम्परागत व्यवसायसँग जोड्न सके नयाँ व्यवसायका सम्भावना विस्तार गर्न सकिने उनको भनाइ थियो । उनले युवालाई आफ्नो क्षमता र दक्षताअनुसार व्यवसाय अघि बढाउन सुझाव दिए ।

संघका अध्यक्ष प्रकाश ढकालले उद्योग तथा व्यवसायको विकासबिना मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । युवामा रहेको सीप, क्षमता र नयाँ सोचलाई उद्यमसँग जोड्न सके रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रसमेत बलियो बनाउन सकिने उनले बताए । ‘युवा पुस्तालाई केवल रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढाउन निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक छ,’ अध्यक्ष ढकालले भने, ‘युवाको नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्ने वातावरण बनाउन निजी क्षेत्रले सहजीकरण गर्नुपर्छ । स्टार्टअप र नयाँ उद्यमलाई सुरुवाती चरणमै आवश्यक परामर्श, बजार र वित्तीय पहुँच उपलब्ध गराउन सके उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुग्छ ।’
सरकारले योजना बनाउने तर, स्पष्ट नीति बनाउन नसक्दा स्वदेशमै उद्यमी बन्न चाहाने यूवाले सहज रुपमा विनाधितो ऋण पाउनसक्ने अबस्था नरहेको उनले बताए । राज्यका केही नीति तथा नियमका कारण स्वदेशमै उद्यम गर्न चाहने युवा विदेश पलायन हुन बाध्य भएको भन्दै उनले व्यवसायीमैत्री वातावरण निर्माण गरी युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनहरि बस्यालले नयाँ व्यवसाय सुरु गर्न चाहने युवाले विभिन्न प्रक्रियागत तथा व्यावहारिक कठिनाइ सामना गर्नुपरेको भन्दै उनीहरूलाई आवश्यक सहजीकरण उपलब्ध गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्यमी इन्जिनियर मोहित भुसालले आफ्नो अनुभव सुनाउँदै व्यवसायमा सफल हुन इमानदारी, लगनशीलता र धैर्यता आवश्यक रहेको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, पूर्वअध्यक्षद्वय कृष्ण पोखरेल र यमलाल लोहनी, संघका पदाधिकारी, युवा उद्यमी, व्यवसायी तथा विभिन्न विद्यालय, कलेज र क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले व्यवसाय सुरु गर्दा देखिएका समस्या, लगानीको अभाव, बजारको अनिश्चितता, सरकारी प्रक्रिया तथा आवश्यक सीपसम्बन्धी विषय उठाएका थिए । युवालाई उद्यमशीलतामा आकर्षित गर्न व्यवसाय सुरु गर्ने वातावरण सहज बनाउनुपर्ने, वित्तीय पहुँच विस्तार गर्नुपर्ने तथा नयाँ सोच र प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको धारणा थियो । सहभागीहरूले स्टार्टअप तथा युवा उद्यमका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएका थिए । कार्यक्रम गरिमा विकास बैंकको सहयोग, एनएमबी बैंकका प्रबन्धक अर्जुन ज्ञवालीको सहजीकरण तथा संघका महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।