बुटवल । रुपन्देहीको सियारीस्थित दुर्गा शैक्षिक गृहमा भएको थिम डान्स कम्पिटिसनको उपाधि ज्ञानगंगा पाठशालाले चुमेको छ । नृत्य कर्मी संघ, नेपाल, रुपन्देहीको आयोजना तथा प्याब्सन रुपन्देहीको सहकार्यमा शुक्रबार भएको प्रतियोगिताको उपाधि ज्ञानगंगा पाठशालाले चुमेको हो ।
उपाधिसँगै विद्यालयले नगद २५ हजार रुपैयाँ, कप, प्रमाणपत्र पनि हात पारेको छ । यसैगरी प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल दोस्रो भएको छ । एभरेष्टले नगद १५ हजार रुपैया, कप, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि ईन्भारोमेन्ट बोर्डिङ स्कुल तेस्रो हुँदै १० हजार रुपैया तथा देवसिद्ध बोर्डिङ स्कुल चौथो हुँदै नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
शुक्रबार एक समारोहकाबीच सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, दुर्गा शैक्षिक गृहका अध्यक्ष सुजाता ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेय, प्याब्सन तिलोत्तमाका अध्यक्ष दिपक गौतम, निर्णाययकहरु वरिष्ठ नृत्य निर्देशक कमल राई र सुन्दर गुरुङ, दुर्गा शैक्षिक गृहका प्रधानाध्यापक ओमप्रकाश पौडेल, संघका अध्यक्ष प्रियंका थापाले पुरस्कार वितरण गरे । प्रतियोगितमा १७ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बालबालिकामा लुकेका प्रतिभा प्रस्फुटन हुने गरि महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताए । बालप्रतिभा प्रष्फुटन हुने गरि यस क्षेत्रमा नै पहिलोपटक रचनात्मक कार्यक्रम गरिएको भन्दै आफु पदिय रुपमा नरहेपनि अर्को वर्षको सम्पूर्ण लाग्ने खर्च व्यक्तिगत रुपमा नै ब्यहार्ने प्रतिवद्घता जनाए ।
संस्थागत विद्यालयप्रति हेर्ने सरकारको दृष्टिकोण पनि परिवर्तन हुनुपर्ने बताए । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले नेपालमा संस्थागत विद्यालय बन्द हुन्छ भन्ने भ्रम समाजमा छर्ने काम भएको प्रति आपत्ति व्यक्त गरे । उनले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । नृत्य कर्मी संघ, नेपाल रुपन्देहीका संरक्षक अनु रजकले यस्तो कार्यक्रम लुम्बिनी प्रदेशमै पहिलो रहेको बताए ।
