बुटवल । संविधान दिवस तथा रुपन्देही व्यापार संघको २५ औँ साधारणसभाका अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । संघको आयोजना तथा सहभागितामा शनिबार संघको सचिवालय परिसरदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल बहुमुखी क्याम्पस अगाडि संघले निर्माण गरेको डिभाइडरसम्म सरसफाइ गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि व्यवसायीहरूको दायित्व भएको बताए । उनले स्वच्छ र व्यवस्थित बजार निर्माणका लागि व्यवसायी, स्थानीयवासी तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । ‘व्यापार व्यवसायको विकाससँगै स्वच्छ, सुन्दर र व्यवस्थित बुटवल निर्माणमा पनि हाम्रो भूमिका हुनुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘सरसफाइलाई एक दिनको अभियानका रूपमा मात्र नभई नियमित व्यवहारका रूपमा विकास गर्न आवश्यक छ ।’ व्यापार संघले व्यवसायिक हितसँगै समाज र समुदायप्रतिको दायित्वलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएको अध्यक्ष ढकालले बताए ।
संघका महासचिव प्रकाशराज पौडेलले संविधान दिवस तथा संघको साधारणसभालाई सामाजिक उत्तरदायित्वसँग जोडेर सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ‘सडक र सार्वजनिक स्थल सफा राख्नु सबैको साझा जिम्मेवारी हो,’ महासचिव पौडेलले भने । यो कार्यक्रमले सार्वजनिक स्थल सफा राख्न र वातावरण संरक्षणप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरूको सहभागिता रहेको थियो । सडक तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गर्नुका साथै संकलन गरिएको फोहोरलाई व्यवस्थापनसमेत गरिएको संघका कार्यकारी प्रमुख सरोज पोखरेलले जानकारी दिए । संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ, जनचेतना तथा अन्य सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । रुपन्देही व्यापार संघको २५ औँ साधारणसभा यही असोज १० गते हुँदैछ ।
