बुटवलमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

मेचीकाली संवाददाता

४ आश्विन २०८३, आईतवार
1 shares

बुटवल । रुपन्देहीको पर्यटन विकासमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ । पाल्पाको नुवाकोटबाट बुटवलको बेलबास बदेलपोखरीमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो ।

बुटवल र पाल्पाको संगमस्थलका रूपमा रहेको नुवाकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको लुम्बिनी इगल आई एडभेन्चरका सञ्चालक कृष्ण थापाले बताए । परीक्षण सफल भएसँगै बुटवलमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने सम्भावना देखिएको उनको भनाइ छ । ‘विभिन्न स्थानमा गरिएको परीक्षणले यहाँ प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने सम्भावना देखाएको छ,’थापाले भने,‘यसले बुटवलको पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।’

परीक्षण उडानमा विश्व साहसिक अवार्डबाट सम्मानित तथा नेसनल जियोग्राफिकले सन् २०१२ मा साहसिक व्यक्तिका रूपमा सम्मान गरेका प्याराग्लाइडिङ विज्ञ सानोबाबु सुनुवार पनि सहभागी थिए । उनले बुटवलमा प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको बताए । उनका अनुसार भौगोलिक अवस्था र मौसमको अध्ययन गर्दै व्यावसायिक उडान सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

परीक्षण उडानका लागि स्याङ्जाको बाबु एडभेन्चर प्याराग्लाइडर्सले प्राविधिक सहयोग गरेको थियो । परीक्षणका क्रममा सात जना पाइलटले क्रमशः बुटवलको आकाशमा प्याराग्लाइडिङ गरेका थिए । प्याराग्लाइडिङका कारण केही समय बुटवलको आकाश रंगीबिरंगी बनेको थियो ।

बुटवल उपमहानगरपालिका–१३ का अध्यक्ष नारायण पुनले परीक्षण उडान सफल भएसँगै प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गर्न सकिने विश्वास व्यक्त गरे । ‘परीक्षण सफल भएको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर व्यावसायिक उडान सुरु गर्न सके यसले बुटवलमा पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने । उनले साहसिक पर्यटनका गतिविधि विस्तार गर्न सके आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय र रोजगारीमा समेत योगदान पुग्ने बताए ।