बुटवल । करिब ५० लाख रुपैयाँ लगानीमा ललितपुरमा ‘बोट क्याफे एण्ड रेस्ट्रो’ सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका–११, चाकुपाट, शंखमूल क्षेत्रमा स्थापना गरिएको क्याफे असोज ५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
बुटवलमा व्यवसायिक गतिविधिमा संलग्न किशोर पाण्डे र बिकी पुरी मगरको संयुक्त लगानी तथा सञ्चालनमा क्याफे स्थापना गरिएको हो । काठमाडौं उपत्यकामा गुणस्तरीय खाना तथा पेय पदार्थसँगै आरामदायी र पारिवारिक वातावरण उपलब्ध गराउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन् ।
क्याफेमा चिया, कफी, ताजा जुस, मोमो, विभिन्न खाजा तथा खानाका परिकार उपलब्ध छन् । ग्राहकको सहजतालाई ध्यानमा राख्दै क्याफेले डेलिभरी सेवासमेत सञ्चालनमा ल्याएको छ ।
कलेज तथा विभिन्न शैक्षिक संस्थाहरूको उपस्थिति रहेको चाकुपाट क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको क्याफेमा विद्यार्थी, युवा, परिवार तथा साथीभाइका लागि सहज र अनुकूल वातावरण तयार गरिएको सञ्चालक किशोर पाण्डेले बताए । जन्मदिन, भेटघाट तथा साना कार्यक्रम आयोजना गर्न मिल्ने व्यवस्था समेत क्याफेमा गरिएको छ ।
अर्का सञ्चालक बिकी पुरी मगरले स्थानीय ग्राहकको माग र रुचिलाई प्राथमिकतामा राख्दै खानाको गुणस्तर, स्वाद र सेवामा विशेष ध्यान दिने बताए । नयाँ व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै व्यवसायिक यात्रालाई थप विस्तार गर्ने लक्ष्य रहेको उनीहरूको भनाइ छ ।
