बुटवल । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सि देशका विभिन्न स्थानमा मध्यम, भारी वर्षा र बाढीको सम्भावना रहेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विशेष बुलेटिन जारी गर्दै वर्षापछि आकस्मिक बाढीसहितको जानकारी दिएको हो ।
आज कहाँ–कहाँ छ बाढीको मध्यम जोखिम ?
विभागका अनुसार बुधबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा वर्षा हुने, नदी खोलाको बहाव बढ्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । यी सबै जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि कहाँ–कहाँ छ जोखिम ?
महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने महाशाखाले जनाएको छ ।
पर्सि नदीको सतह आकस्मिक बढ्ने
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ७ वटै स–साना नदीहरूमा पनि बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको भनाइ छ ।
