पाल्पामा पहिरोले दुई घर पुर्‍यो, एक महिला बेपत्ता

मेचीकाली संवाददाता

९ आश्विन २०८३, शुक्रबार
1 shares

रमेश पराजुली

बुटवल । निरन्तरको भारी वर्षापछि पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोले दुई वटा घर बगाएको छ । पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् ।

गत बुधबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण बिहीबार दिउँसो करिब पौने ३ बजे पहिरो खस्दा धुस्तुङ गोलफानका केसुराम सारु मगर र रामबहादुर उचईको तीनतले कच्ची घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । नयाँ निर्माण गरिएको मोटरबाटोबाट लेदोसहितको ढुंगा–माटो बगेर घरमाथिबाट ठूलो पहिरो खसेको हो ।

प्रहरीका अनुसार दुवै घर ढुंगा–माटोले बनेका र जस्ताले छाएका थिए । पहिरोले घर पुरिदा केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी छन् । परिवारका अन्य तीन सदस्य एक छोरा र एक नाती भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस्तै रामबहादुरको परिवारका चारै जना श्रीमान्–श्रीमती, एक छोरा र एक छोरी सकुशल रहेका छन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर, पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा, माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार कार्यमा कठिनाइ भएको प्रहरी नायव उपरीक्षक भट्टराईले प्रहरीले बताए ।

बेपत्ता कृष्णकुमारीको खोजी तथा उद्धारका लागि स्थानीय र सम्बन्धित निकायसँग समन्वय गरी प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनामा अन्य पशु चौपायामा भने क्षति नभएको बताइएको छ ।