मेचीकाली सन्देश प्रकाशन प्रालिको २२औं साधारणसभा सम्पन्न

–छापा पत्रकारिताको विश्वसनीयता जोगाउँदै अनलाइन र डिजिटल प्लेटफर्मलाई प्रभावकारी बनाउने प्रतिवद्धता

मेचीकाली संवाददाता

१० आश्विन २०८३, शनिबार
1 shares

बुटवल । मोफसलबाट प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक मेचीकाली सन्देशलाई समयअनुकूल थप परिस्कृत गर्दै डिजिटल प्लेटफर्म र अनलाइन संस्करणलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिको २२औँ वार्षिक साधारणसभाले छापा पत्रकारिताको मर्यादा, विश्वसनीयता र व्यावसायिकता कायम राख्दै डिजिटल माध्यमलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको हो ।

तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा शुक्रबार सम्पन्न साधारणसभाले बदलिँदो सञ्चार प्रविधि र पाठकको सूचना उपभोग गर्ने शैलीमा आएको परिवर्तनलाई आत्मसात गर्दै मेचीकाली सन्देशको अनलाइन तथा डिजिटल उपस्थितिलाई थप प्रभावकारी, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राखेको हो ।
मोफसलबाट प्रकाशित भई निरन्तर ‘क’ वर्गमा सूचीकृत मेचीकाली सन्देश राष्ट्रिय दैनिकका रूपमा २०५७ मंसिर २८ गतेदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । सुरुमा सहकारीमार्फत प्रकाशन हुँदै आएको दैनिक २०६१ सालदेखि मेचीकाली सन्देश प्रकाशन प्रालिमार्फत निरन्तर प्रकाशित हुँदै आएको हो ।

प्रालिका अध्यक्ष होमराज बस्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै संस्थाका वरिष्ठ सञ्चालक तथा संविधानसभा सदस्य आदित्यनारायण कसौधनले आमसञ्चारको प्रभावकारी माध्यमका रूपमा मेचीकाली सन्देशलाई अझ सशक्त बनाउनुपर्ने बताए । उनले सामाजिक न्याय, मानवअधिकार र सूचनाको हकका सवालमा मेचीकालीले अब्बल भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंशा पनि गरे ।
अध्यक्ष बस्यालले संस्थाले आत्मसात गर्दै आएको मर्यादित, जिम्मेवार र व्यावसायिक पत्रकारिताको मूल्यमान्यतालाई कायम राख्दै नयाँ प्रविधिसँग जोडिनुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रमा तीव्र रूपमा भइरहेको परिवर्तनअनुसार पाठकसम्म सूचना पु¥याउने माध्यम र शैलीमा समेत समयानुकूल सुधार आवश्यक रहेको अध्यक्ष बस्यालको भनाइ थियो ।

साधारणसभाले मेचीकाली सन्देशको पत्रकारितालाई अझ प्रभावकारी बनाउँदै डिजिटल प्लेटफर्म र अनलाइन संस्करणलाई संस्थाको महत्वपूर्ण सञ्चार माध्यमका रूपमा विकास गर्ने निर्णय गरेको संस्थाका सञ्चालक तथा प्रधानसम्पादक बसन्तराज खनालले जानकारी दिए ।
उनका अनुसार छापा माध्यमको विश्वसनीयता र स्थापित पहिचानलाई जोगाउँदै डिजिटल पत्रकारितामा पनि गुणस्तर, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रमा राखिनेछ । पाठकको बदलिँदो रुचि र सूचना प्राप्त गर्ने प्रवृत्तिलाई ध्यानमा राखेर अनलाइन सामग्रीको प्रस्तुति, पहुँच र प्रभावकारितालाई थप सुदृढ बनाउने योजना रहेको उनले बताए । ‘सूचना छिटो पु¥याउने’ मात्र नभई विश्वसनीय, तथ्यपरक र सन्देशमूलक सामग्रीमार्फत डिजिटल माध्यममा पनि मेचीकाली सन्देशको पहिचान स्थापित गर्ने उद्देश्यसहित अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रालिका सदस्य तेजकुमार पाठक, शेयर सदस्य बाबुराम भट्टराईलगायतले बदलिँदो सञ्चार परिवेशअनुसार संस्थालाई थप परिस्कृत र आधुनिक आमसञ्चारको माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले छापा पत्रकारिताको बलियो आधारलाई कायम राख्दै अनलाइन, सामाजिक सञ्जाललगायतका डिजिटल माध्यमको व्यवस्थित प्रयोगमार्फत पाठकको नयाँ पुस्तासम्म पुग्नुपर्नेमा जोड दिए ।
साधारणसभाले अध्यक्षको, लेखासमितिको, आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेटलगायतका नयाँ कार्यक्रमहरु समेत सर्वसम्मत रुपमा पारित गरेको कार्यक्रमको सहजीकरण गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु गैरेले जानकारी दिए ।