टेकराज पौडेल
एउटा विद्यालयमा एकजना विद्यार्थीले गणितको ‘गुणा’ भन्ने कुरा पटक्कै बुझ्दैनथ्यो । शिक्षकले वर्षौंसम्म सम्झाउँदा पनि ऊ एउटै उत्तर दिन्थ्यो—‘दुई दुना (गुणा) १६ हुन्छ ।’ शिक्षकहरू हैरान थिए, तर पढाउन छाडेका थिएनन् ।
एक दिन जिल्ला शिक्षा अधिकारी निरीक्षणका लागि विद्यालय पुगे । उनले विद्यार्थीलाई सोधे, ‘बाबु, दुई दुना (गुणा) कति हुन्छ ?’
विद्यार्थीले फ्याट्ट भन्यो, ‘आठ हुन्छ, सर ।’
विद्यालयका शिक्षकहरू खुसीले गद्गद् भए । अधिकारीले आश्चर्य मान्दै सोधे, ‘तपाईंहरूले यसलाई दुई गुणा आठ हुन्छ भनेर पढाउनुभएको रहेछ ?’
शिक्षकहरूले हाँस्दै भने, ‘होइन सर, हामीले त दुई गुणा चार हुन्छ भनेर दुई–तीन वर्षदेखि पढाइरहेका छौँ । यसले आजसम्म दुई गुणा १६ मात्रै भन्थ्यो । आज पहिलोपटक १६ छाडेर आठसम्म आइपुग्यो । अब कुनै दिन चार पनि भन्ला भन्ने आशा जाग्यो, त्यसैले खुसी भएका हौँ ।’
प्रधानमन्त्री बालेन्द्र साहको न्यूयोर्क भ्रमण सम्झिँदा मलाई यही कथा याद आउँछ ।
पहिले न्यूयोर्क जाँदै नजाने, परराष्ट्रमन्त्रीलाई पठाउने भनेर बसेका प्रधानमन्त्रीलाई अन्ततः त्यहाँ जानैपर्ने अवस्था कसरी सिर्जना भयो ? पहिलो कुरा, उहाँ गइदिनुभयो—यसैमा खुसी हौँ ।
अन्ततः जान बाध्य पार्ने भोटेकोशीको बाढीलाई कसरी धन्यवाद दिने ? जसले हजारौँ मानिसको ज्यान लियो, खर्बौँको राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति नष्ट गर्यो, सिङ्गो भोटेकोशी–त्रिशूली सभ्यतालाई तहसनहस बनायो र त्यसको चर्को मूल्यमा प्रधानमन्त्रीज्यूलाई न्यूयोर्क उतार्यो ।
प्रधानमन्त्रीज्यूले मज्जाले पढ्नुभयो । यो नै हाम्रा लागि खुसीको कुरा हो । जाँदै जान्नँ भनेका मान्छे जाने भएपछि ती शिक्षक खुसी भएझैँ हामी पनि खुसी भएका हौँ ।
त्यहाँ बोल्न मात्र होइन, व्यंग्य हान्न पनि सिपालु हुनुहुँदो रहेछ हाम्रा प्रधानमन्त्रीज्यू ?
संसारभरका कार्यकारीहरूलाई बुद्धको शान्तिको सन्देश र पशुपतिनाथको पहिचान सम्झाउनुभयो । तर आफ्नै राष्ट्रिय पहिरन दौरासुरुवाल, कोट र टोपीको पहिचान प्रस्तुत गर्ने अवसरचाहिँ छुटाउनुभयो भनेर न्यूयोर्क टाइम्स र अलजजिराले गरेको टिप्पणीप्रति ती मिडियासँग मेरो खेद छ । मेरो देशको प्रधानमन्त्रीलाई गाली वा व्यंग्य गरिँदा म खुसी हुने विषय हुँदै होइन ।
बरु, प्रधानमन्त्रीले अरूलाई व्यंग्य गर्छु भन्दा आफैँलाई व्यंग्य गरे भन्ने न्यूयोर्क टाइम्सको प्रश्नको जवाफ दिन मलाई भने गाह्रो भयो, पसिना आयो ।
प्रधानमन्त्रीज्यूले छिटो डेलिभरीको कुरा गर्ने सन्दर्भमा हतियारको प्रसङ्ग जोडेर नेपालमा रासायनिक मल र ग्यास सिलिन्डरको उपलब्धताको कुरा गर्नु निकै लाजमर्दो तर्क भयो । सिङ्गो एउटा देशको व्यवस्थापनसँग सम्बन्धित विषयलाई अन्तर्राष्ट्रिय मञ्चमै उठाउनुको रहस्य बुझिनसक्नु छँदै छ ।
देशमै मल कारखाना खोलेर विदेशमै निर्यात गर्न नेपाललाई कुन देशले रोकेको छ र ? ग्यासको अभावको कुरा न्यूयोर्कमै सुनाएर के फाइदा ? देशका आयात–निर्यातकर्ता र सम्बन्धित निकायबाट सम्बोधन हुने विषय त देशमै गर्न सकिन्छ ।
ल, प्रधानमन्त्रीज्यूलाई विदेशीले हेपे, उद्योगी–व्यापारीले असहयोग गरे भन्ने अनुभूति हो भने देशमै दैलेखको दुल्लुमा ग्यास उत्खननबाट आगामी ५० वर्ष पुग्ने ११२ अर्ब घनमिटरमध्ये एउटा क्षेत्रमा मात्र सम्भावना देखिएको अवस्थामा अहिलेको बलियो दुईतिहाइको सरकारलाई यसपटकको बजेट भाषणमा एक सुका पनि छुट्याउन नदिने कुन विदेशी सरकारको दबाब थियो भन्ने सुनाएको भए गज्जबको साहस मान्न सकिन्थ्यो । अर्थमन्त्रीसँग सोधेर बताएकै भए पनि हुन्थ्यो नि !
प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो देश नेपाललाई ‘योङ्ग नेसन’ भन्नुभयो । दक्षिण एसियाकै पुरानो देश कसरी अरू देशभन्दा भर्खरको भयो ?
अलजजिराले यो विषयमा पनि प्रश्न उठायो र पो लाज लाग्यो !
हुन पनि ‘योङ्ग नेसन’ को चर्चा के प्रसङ्गमा गर्नुभयो ? आफ्नै देशको सार्वभौम संसद्मा सीमा मिचिएको विषयमा जवाफ दिँदा भारतले होइन, नेपालले सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयदेखि अर्को बैठकमा सुरुङबाट उद्धार हुने प्रविधि संसारमा कहीँ छैन भन्ने अभिव्यक्तिसम्म आइपुग्दा तपाईंको विद्वता र राष्ट्रभक्ति कहाँ चरन गएको भन्दै आलोचना भयो ।
तपाईंले नेपाललाई नयाँ देश भन्नु दुःखद् कुरा हो । नेपाल इतिहास र सभ्यताको हिसाबले पुरानो मुलुक हो ।
तर जे होस्, ‘दुई दुना (गुणा) १६’ भन्ने अवस्थाबाट ‘दुई गुणा आठ’सम्म भन्ने ठाउँमा पुगेको विद्यार्थीझैँ, के–के बिगार्ने हो भन्ने डरका बीच खासै असर नपर्ने गरी बोलेकोमा साधुवाद त भन्नैपर्यो ।
अब हाम्रो अपेक्षा यति मात्र हो—अर्कोपटक १६ पनि नहोस्, आठ पनि नहोस्, दुई गुणा चारचाहिँ ठीक ठाउँमा आओस् ।
