बुटवल । टिभिएस मोटर कम्पनीका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ छनोट चरण’ शनिबार बुटवलमा हुने भएको छ । तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने प्रतियोगितामा सहभागी राइडरका लागि बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुनेछ । एआरई जीपीअन्तर्गत छनोट चरण आयोजना गर्ने बुटवल पहिलो सहर बन्ने छ । बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत छनोट चरण आयोजना गरिनेछ ।
प्रतियोगितामा सहभागी राइडरलाई सवारी चलाउने सही आसन, मोड काट्ने तरिका, मोटरसाइकल ढल्काउने सीप, ब्रेकको उचित प्रयोग तथा अगाडिको बाटोमा दृष्टि केन्द्रित गर्ने प्रविधिबारे सैद्धान्तिक प्रशिक्षण दिइनेछ । त्यसपछि प्रशिक्षकको निगरानीमा ट्र्याकमा विभिन्न अभ्यास गराइने आयोजकले जनाएको छ । प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धात्मक दौड हुनेछ । प्रत्येक समूहबाट उत्कृष्ट तीन राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने एआरई जीपीको अन्तिम चरणका लागि छनोट हुनेछन । अन्तिम चरणमा थप सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षणपछि दुवै समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक समूहका प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय १६० सीसी तथा २०० सीसी मोटरसाइकल दौडमा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने राइडरले सम्बन्धित समूहका थप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरसमेत पाउनेछन । आयोजकका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछ । अन्तिम चरणका विजेतालाई मोटोजीपी र मोटोसोलको भ्रमणको अवसरसमेत प्रदान गरिनेछ ।
बुटवल क्षेत्रका लागि टिभिएसको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले एआरई जीपीको पहिलो छनोट चरण बुटवलबाट सुरु हुनु यस क्षेत्रका मोटरसाइकलप्रेमी तथा राइडरका लागि महत्वपूर्ण अवसर भएको बताए । ‘लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडरको कमी छैन । तर उनीहरूलाई सुरक्षित र व्यावसायिक वातावरणमा सिक्ने तथा प्रतिस्पर्धा गर्ने अवसर आवश्यक छ’ उनले भने, ‘यस कार्यक्रमले बुटवलका युवालाई स्थानीय ट्र्याकदेखि अन्तर्राष्ट्रिय सर्किटसम्म पुग्ने अवसर सिर्जना गर्नेछ ।’
टीभीएसले सन् १९८२ देखि मोटरस्पोट्र्समा सहभागिता जनाउँदै आएको छ । कम्पनीले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप ११ पटक जितिसकेको तथा सन् २०१५ मा डकार ¥यालीमा सहभागी हुने पहिलो भारतीय मोटरसाइकल निर्माता बनेको आयोजकको भनाइ छ । टीभीएसको यही मोटरस्पोट्र्स विरासतलाई नेपालमा ट्र्याक राइडिङ अनुभवसँग जोड्ने उद्देश्यले एआरई जीपी आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक पेज ‘टीभीएस नेपाल’ वा इन्स्टाग्राम टिभिएस नेपालमा उपलब्ध क्यूआर कोडमार्फत दर्ता गर्न सक्नेछन । कार्यक्रमको आधिकारिक कफी साझेदार काठमाडौं कफी रहेको छ ।
