बुटवल । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका– २ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका– ३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गोरखाका ३० वर्षीय हरिशरण थापा, अछामका २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी २० वर्षीया आकृती, बाजुराका ३२ वर्षीय पवन बुढा, बर्दियाका २८ वर्षीय सञ्जय थारु, बाजुराका २५ वर्षीय प्रेम बम, ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की, बाँकेका ४८ वर्षीय अस्लाम भगवान र सल्यानका २१ वर्षीय अनिल बुढाथोकी रहेका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याएको जनाएको छ ।
