बुटवल। जगदम्बा मोटर्स प्रालिले आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स एआरआई जिपी रेसिङ क्वालिफायर्सको बुटवल चरणबाट १६० सीसी वर्गका तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन् ।
बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा तिलोत्तमा–५ स्थित गौराङ्ग इजी वे ट्रायल सेन्टरमा शनिबार क्वालिफायर्स आयोजना गरिएको हो । कार्यक्रममा उदीयमान राइडर, मोटरस्पोट्र्सप्रेमी तथा एमेच्योर रेसरहरूको उल्लेख्य सहभागिता रहेको थियो । बुटवल चरणमा सहभागी हुन ७६ जना राइडरले दर्ता गरेपछि थप दर्ता रोक्नुपरेको आयोजकले जनाएको छ। ठूलो संख्यामा राइडरको सहभागिताले बुटवल तथा आसपासका क्षेत्रमा मोटरस्पोट्र्सप्रतिको आकर्षण बढ्दै गएको देखाएको आयोजकको भनाइ छ ।
कार्यक्रममा नेपालका अनुभवी रेसर सुजन थापा मगर र नवाङ मोक्तानले सहभागीलाई रेसिङसम्बन्धी प्रशिक्षण दिएका थिए । पूर्व एआरआई जिपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङकी चार पटककी राष्ट्रिय च्याम्पियन मोक्तानले सहभागीलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धाबाट धीरज बि।क। ३४.०७ सेकेन्डमा विजेता बने। अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता तथा अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने । यी तीनै राइडरले ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका उत्कृष्ट राइडरसँग प्रतिस्पर्धा गर्नेछन् । बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा एआरआई जिपी प्रति देखिएको उत्साहले आफूहरू उत्साहित भएको बताए । ७६ जना राइडरको सहभागिता बुटवलमा मोटरस्पोट्र्सप्रतिको बढ्दो रुचिको प्रमाण भएको उनको भनाइ थियो ।
ग्रान्ड फिनालेबाट १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन । उनीहरूले ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछ ।
जगदम्बा मोटर्सले एआरआई जिपी मार्फत नेपालमा मोटरस्पोट्र्स संस्कृति विकास गर्ने लक्ष्य लिएको जनाएको छ । अपाचे ट्र्याक एक्सपेरियन्स, क्षेत्रीय रेसिङ क्वालिफायर्स र ग्रान्ड फिनाले गरी तीन चरणमा सञ्चालन हुने कार्यक्रमले नयाँ राइडरलाई प्रशिक्षणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने अवसर प्रदान गर्नेछ ।
