बुटवल । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा सुरू भएको छ । आइतबार खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले पार्टी मात्र होइन देशलाई बदल्ने सामाथ्र्य राख्ने उद्घोष गरे । नेपाली जनताले खोजेको संकल्प कांग्रेसले पूरा गर्ने थापाले बताए । सभापति थापाले संसद्देखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताए । संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनको भनाइ थियो । थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए । नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे ।
‘खुलामञ्च १० वर्षपछि खुलेको छ । यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठुला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन् ।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए । ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने ।
थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए । त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो । ‘संसद् अहिले खुला छैन । प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने ।
सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए । संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो । थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए । नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उनको धारणा थियो ।
पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ । नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने । उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए । लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे । ‘संसद् बन्द छ, पार्टी बन्द छ त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने । १० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबिचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो । खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
लोकतन्त्र र परिवर्तनको पक्षमा रास्वपाले सहकार्य गर्नेछः लामिछाने
महाधिवेशनलाई सम्बोधन गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र र परिवर्तनको पक्षमा रास्वपाले सहकार्य जारी राख्ने बताएका छन् । कांग्रेस महाधिवेशनमा सम्बोधन गर्दै उनले लोकतन्त्र डगमगाउन नदिने भन्दै परिवर्तन र लोकतन्त्रका लागि अन्य दलहरुसँग सहकार्य गरिने बताएका हुन् । लामिछानेले भने, ‘हामी लोकतान्त्रिक मूल्य मान्यताबाट दायाँबायाँ गर्ने छैनौं । लोकतन्त्रप्रति प्रतिबद्धता दायाँबायाँ हुँदैन । प्रतिबद्धता जनाउनु चाहन्छु । सरकारका निर्णय गलत भए सच्याउँछौं ।’
लामिछानेले सरकार नढल्ने बताएका छन् । केही व्यक्तिहरूले सरकार ढल्ने भनी अभिव्यक्ति दिइरहेको आफूले पनि सुनेको बताए । ‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवतमा ढल्छ, ढल्छ कि ढल्छ भनेको बडो सुन्छु,’लामिछानेले भने, ‘तर, पटक–पटक सरकार ढल्छ भनेको मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन ।’ लामिछानेले थपे, ‘हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौं, हामीले इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं ।’
लामिछानेले आफूलाई प्रायः एक्लो हुने बानी रहेको बताए । ‘आज यो मञ्चको एक्लो प्रतिपिक्षी भएछु । सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष । प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भने । कांग्रेसले नेपालको लोकतन्त्रमा पु¥याएको योगदानको आफूले सधैं सम्मान गर्ने सभापति लामिछानेको भनाइ थियो ।
राजनीतिक शक्ति मिलेर जानुपर्छः दाहाल
नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अराजकतातिर जाने जोखिम भएकाले राजनीतिक शक्ति मिलेर जानुपर्ने बताए । उनले भने, ‘कतिपय प्रवृत्तिले अराजकतातिर जाने जोखिम छ । सबै राजनीतिक शक्ति मिलेर जान जरुरी छ । समावेशीसहित संघीय लाकेतान्त्रिक गणतन्त्र, शान्ति सम्झौताको अंगको रुपमा पनि छ ।’
उनले गगन थापाले नेपाली कांग्रेसलाई नयाँ बनाउने जमर्को गरेको बताए । उनले बुढापाका भनिनेहरूलाई अपमान गर्ने प्रवृत्ति केही नयाँमा देखिएको भन्दै भने, ‘हामीले त्यस्तो गर्नु हुँदैन । समाज युवा, ज्येष्ठ सबै नागरिक मिलेर बनेको हुन्छ ।’
दाहालले नेपाली कांग्रेसमा निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई सभापति गगन थापाले नयाँ इतिहासतिर डो¥याएको बताए । दाहालले भने, ‘तपाईंले एउटा नयाँ इतिहास निर्माण गर्नुभयो । निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो ।’ उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललगायतको सहयोगबाट सभापति थापाले कांग्रेसलाई नयाँ दिशामा लगेको उनको भनाइ थियो ।
लोकतन्त्र र राष्ट्रियताका लागि सबै दल एक ठाउँ आउनुपर्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र राष्ट्रियताका लागि सबै दल एक ठाउँमा रहेर लड्नुपर्ने अवस्था आएको बताए । उनले रास्वपा नेतृत्वको सरकार जनताका समस्या समाधान गर्नुभन्दा स्वेच्छाचारितातर्फ अगाडि बढिरहेको भन्दै लोकतन्त्रवादी दलहरू एक हुनुपर्नेमा जोड दिए । उनले रास्वपा सभापति दलहरूलाई सँगै लिएर जान चाहे पनि सरकार प्रमुखले दलहरू र संसद्लाई बेवास्ता गरिरहेको बताए ।
महासचिव पोखरेलले नेपालमा लोकतान्त्रिक रक्षाका लागि कांग्रेससँग मिलेर जान आफ्नो पार्टी तयार रहेको बताए । पोखरेलले भने,‘लोकतन्त्रको रक्षाका प्रश्नमा, सार्वभौम सत्ताको रक्षाका प्रश्नमा, नेपाली जनताको विकास, समृद्धि र परिवर्तनको आकांक्षाका पक्षमा नेपालका लोकतान्त्रिक दलहरू मिलेर काम गर्नुपर्छ, त्यसका लागि नेपाली कांग्रेससँग मिलेर काम गर्नका लागि एमाले तयार छ ।’
आगामी १०–२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔंः भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका सन्दर्भमा आगामी १०–२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाउन आग्रह गरे । उनले यो योजनामा सबै पार्टी मिलेरे लाग्न पनि आग्रह गरेका छन् । यदि यस्तो नभए यस्तै महाधिवेश काक्र्रममा सहभागी हुने र गुनगान गाउने र जाने मात्रै हुने बताए । उनले उक्त अवसरमा कांग्रेसको नयाँ पुस्ताले हिम्मत गरे जसरी अघि बढेको छ । यो राम्रो भएको पनि बताए ।
देश झन् अँध्यारोतर्फ गएको छःलिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीति र नेताप्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताए । उनले देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको बताए ।
‘पाँच वर्षपछि फेरि नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आइपुग्दा पनि आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णामा अपेक्षित सुधार आएको छैन । देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको छ,’ उनले भने, ‘हिजो गलत कुरा औंल्याउँदा गोली चल्थ्यो, आज सामाजिक सञ्जालमार्फत दबाब र आक्रमण हुन्छ । पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ ।’
संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नुहुँदैनः शर्मा
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्ष वा संसद्को अंकगणितको विषय मात्रै बन्नु नहुने बताए । उपसभापति शर्माले उक्त धारणा राखेका हुन् । ‘संविधान संशोधनको विषय सरकारले व्यवस्थित र परिपक्व ढंगले अगाडि बढाउँदै गर्दा, संविधानले नै परिकल्पना गरेर १० वर्ष पुगिसकेपछिको मूल्यांकनमा हामी सरकारको साथमा उभिन्छौं तर संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको विषय मात्रै बन्नुहुँदैन,’ उनले भने,‘संविधान संशोधनको विषय संसदको गणितको विषय मात्रै बन्नु हुँदैन । संविधान संशोधन गरिरहँदा गणितको विषय बन्दैन, समग्रताको भावना र अपनत्वको विषय बन्नुपर्छ ।’
उपसभापति शर्माले संसद र संविधानसभामा नरहेका पार्टी र सरोकारवालाहरूलाई पनि संविधान संशोधनको क्रममा छलफल गर्नुपर्ने बताए । संविधान संशोधनबारे गम्भीरतापूर्वक राष्ट्रिय चिन्तन गर्नुपर्ने उपसभापति शर्माले बताए ।
महाधिवेशन वर्तमान र भविष्यको संवाद गर्ने थलो होः भुसाल
कांग्रेसको १५ औँ महाधिवेशन नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीको वर्तमान र भविष्यको विषयमा छलफल गर्ने थलो भएको उपसभापति पुष्पा भुसालले बताइन् । भुसालले भनिन्,‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्न थलोको रूपमा यो महाधिवशेन हुन गइरहेको छ ।’
कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्रै नभएको भुसालले बताइन् । ’यो महाधिवेशन पद व्यवस्थनापन गर्नका लागि मात्र भइराखेको छैन । यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन लोकतन्त्रमा, कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्नेको थलो बन्नुपर्छ ।’
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैनः भण्डारी
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन् । भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए । उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबिच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने,‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन् ।’
कांग्रेस हल्लाद्वारा स्थापित भएको होइनः राई
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताएका छन् । नेपाली कांग्रेसले नेपालमा लोकतान्त्रिक गणतन्त्र र प्रजातन्त्र स्थापनाका लागि भूमिका खेलेको बताए । राईले भने,‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौं र हे¥यौं । नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन ।’ कांग्रेसमा लागेर थुप्रै योद्धाहरूले आफ्ना निजी सपना त्यागेर राष्ट्र निर्माणमा लागेको राईको भनाइ थियो ।’ ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणको निम्ती सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ राईले भने ।
यस्तैगरी नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्तो बताएका हुन् । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिएको भए पनि अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक नदेखाएको उनको भनाइ थियो ।
यस्तैगरी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले लोकतान्त्रिक व्यवस्थाका लागि नेपाली कांग्रेससँग लामो र घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति गगन थापालाई पत्र लेख्दै अध्यक्ष खड्गेले दुई देशबिचको लोकतान्त्रिक अभ्यासको स्मरण गरे । कांग्रेसको १५औँ महाधिवेशनमा देशभरबाट ७ हजार बढी प्रतिनिधि सहभागी भएका छन् ।
