अमृत गिरी
बुटवल । नेपाल–चीन व्यापारका परम्परागत प्रमुख नाका रसुवागढी र तातोपानी बाढीपहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाकाले मात्रै अहिले मुलुकको उत्तरी व्यापारलाई धानेको छ । यद्यपि यो नाकाबाट प्रमुख सहरमा आउजाउ गर्ने सडक भने बाढीले क्षतिग्रस्त बनाएको छ ।
भन्सार परिसर र त्यसक्षेत्रका कार्यालयहरु असोज ९ गतेदेखि विद्युत्विहीन भएका छन्, टेलिफोनको नेटवर्क समेत दिनमा कुनैबेला एकैछिन मात्रै आउने र लगत्तै जाने भइरहेको छ । चीनले यही नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रस्ताव गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले नेपाल सरकारलाई पत्र पठाउँदै एक वर्षका लागि परीक्षणकालीन रूपमा कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा स्तरोन्नति गर्न आग्रह गरेको हो ।

असोज ९ गते आएको बाढीले २२० केभी प्रसारण लाइनका टावर ढालेपछि यसक्षेत्रमा लामो समयदेखि विद्युत् अबरुद्ध । बाढीपहिरोले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दी–पर्वत जोड्ने दाना–कुश्मा खण्डअन्तर्गतका टावर नम्बर २१ र २२ सहित केही टावरहरूमा संरचनात्मक क्षति पु¥याएको वा ढालेको थियो । साथै, कुश्मा–नयाँ बुटवल खण्डमा पनि प्राविधिक समस्या आएपछि त्यसको असर अन्य जिल्लामा पनि परेको विद्युत् प्राधिकरणको भनाइ छ । असोजको बाढीले ३५८ मेगावाट भन्दा बढी बिजुली ठप्प भएको बताइएको छ ।
प्रसारण लाइनका टावर ढलेपछि यो करिडोरमा जोडिएका १२ देखि १४ वटा जलविद्युत आयोजनाको विद्युत् प्रवाह राष्ट्रिय ग्रिडबाट पूर्ण रूपमा विच्छेद भएको थियो । यसरी प्रभावित हुनेमा निलगिरी–१ (३८ मेगावाट), निलगिरी–२ (७१ मेगावाट), मिस्त्री खोला (४२ मेगावाट), घर खोला (१४ मेगावाट) लगायतका आयोजना छन् ।
परीक्षण उत्पादन सुरु गरेको एक हप्ता पनि नहुँदै ४० मेगावाटको राहुघाट आयोजनाको टेलरेस गेट बाढीले भत्काएको थियो । कालीगण्डकीको कटानका कारण यसको स्विचयार्डसमेत जोखिममा परेको थियो । पोलहरू ढल्दा र तारहरू चुँडिँदा म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ जिल्लाहरूमा स्थानीय विद्युत् आपूर्ति लामो समयदेखि अबरुद्ध छ । यीमध्ये कतिपय ठाउँमा केही सुचारु भएपनि अझै कतिपय ठाउँमा बन्द नै छ ।
दिनमा कुनै कुनै बेला मात्रै मोबाइलमा नेटवर्क आउने गर्ने गरेको कार्यालय प्रमुख चुडालले बताए । उनीसँग टोलिफोनमा दुई मिनेट कुरा गर्न झण्डै दुई तीन घण्टापछि मात्रै बल्लतल्ल फोन टिपेको थियो ।
नाकाबाट प्रमुख सहरमा आउजाउ गर्ने सडक भने बाढीले क्षतिग्रस्त बनाएको छ । भन्सार परिसर र त्यसक्षेत्रका कार्यालयहरु असोज ९ गतेदेखि विद्युत्विहीन भएका छन्, टेलिफोनको नेटवर्कसमेत दिनमा कुनैबेला एकैछिन मात्रै आउने र लगत्तै जाने भइरहेको छ ।
कार्यालय प्रमुख चुडालले जेनतेन जुटाएको डिजल र पेट्रोल हालेर जेनेरेटर चलाएर भन्सार क्लिरियन्सका काम भइरहेको र इन्टरनेट र फोनको नेटवर्क नआउँदा सबै काम प्रभावित भएको बताए । अहिले भन्सार यार्डमा रहेका सबै कन्टेनरलाई पास गराउने र खाली गाडी पनि दसैंअगाडि नै पार गराउने गरी दिनरात नेटवर्क कुर्दै काम भइरहेको प्रमुख चुडालको भनाइ छ ।
कोरला नाकामा एकीकृत भन्सार, गोदाम, पार्किङ, बैंकिङ, सञ्चार, सुरक्षा, क्वारेन्टाइन, आवास तथा मौसमअनुकूल पूर्वाधार एकैसाथ विकास गर्नेगरी योजना बनेर काम अगाडि बढिरहेका बेला असोज ९ गते आएको पानी र त्यसको बाढीले विद्युत् प्रशारण लाइनमा क्षति पु¥याएपछि सबै काम प्रभावित भएको भन्सार विभागले जनाएको छ ।
डेढ महिनामै ८ अर्ब राजस्व संकलन
पहिला एकदुईवटा मात्रै भन्सार पास हुने कोरला भन्सारबाट पछिल्ला दिनमा भने दैनिक ५० वटासम्म सामान बोकेका कन्टेनरको जाँचपास हुन थालेको छ । त्यत्तिकै हाराहारीमा विद्युतीय गाडीको समेत जाँचपास भइरहेको र राजस्व संकलन पहिले दुई आवमा हुने संकलन अहिले केही दिनमै भएको छ ।
कोरला नाकामा चालू आवको डेढ महिनामै ८ अर्ब भन्दा धेरै राजस्व संकलन भएको छ । यो भदौ १५ गतेदेखि असोज २० गतेसम्मको राजस्व संकलनको तथ्यांक रहेको त्यहाँका भन्सार कार्यालय प्रमुख विदूर चुडालले जानकारी दिए । त्यसअघि साउन १ देखि भदौ १२ गतेसम्म करिब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । अहिले डेढ महिनामा संकलन भएको राजस्व गत एक वर्षमा संकलन भएको भन्दा झण्डै दुई अर्बले धेरै हो । गत आवमा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चिनियाँ उच्चस्तरीय टोलीद्वारा कोरलाको अवलोकन
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी पूर्वाधार अवलोकन तथा निरीक्षण गरेका छन् । उनी शनिबार कोरोला नाका हुँदै नेपालको लोमान्थाङ आएका थिए । चिनियाँ राजदूतसहित ५ जना चिनियाँ टोली र २ जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी उक्त टोलीमा रहेका छन् । नेपाल–चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
कोरला बन्न सक्छ उत्तरी व्यापारको प्रमुख नाका
करिब ४ हजार ६ सय ५० मिटरको उचाइमा रहेको कठोर हिमाली भूगोलको यो नाकामा पछिल्ला दिनमा सामान बोकेका कन्टेनर र विद्युतीय सवारीसाधनको आवागमन बढेको छ भने उत्तरी नाकाको भरपर्दो विकल्प बनेको छ । एकातिर रसुवागढी र तातोपानीजस्ता मुख्य व्यापारिक ढोका बन्द हुँदा व्यापारको चाप कोरलातर्फ सरेका बेलामा चीनले यहीँ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रस्ताव गरेको हो ।
कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन गर्न नेपालले लामो समयदेखि पहल गर्दै आएको थियो । विगतमा चीन यस विषयमा त्यति सकारात्मक देखिएको थिएन । अन्तर्राष्ट्रिय नाका बनेपछि नेपालसँगै अन्य देशका नागरिकले समेत कोरला हुँदै चीन आवतजावत गर्न सक्नेछन् । रसुवागढी, तातोपानी, कोरला, हिल्सा, किमाथांका र ओलाङचुङगोला जस्ता नेपाल–चीन नाकामध्ये कोरला नै दीर्घकालीन विकल्प बन्नसक्ने विज्ञहरुको भनाइ छ ।
क्षतिग्रस्त सडक खण्डमा धमाधम मर्मत
कोरला नाकाको सबैभन्दा ठुलो चुनौती भनेको सडक हो । नाकाबाट सामान भित्रिएपछि त्यसलाई जोमसोम, बेनी, पोखरा हुँदै बुटवललगायतका बजारसम्म सुरक्षित रूपमा पु¥याउन सकिएन भने नाकाको व्यापारिक सम्भावना व्यवहारमा रूपान्तरण हुन सक्दैन । पछिल्लो मनसुनपछि बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकका ५० भन्दा बढी स्थानमा अवरोध सिर्जना गरेको छ ।
करिब २०२ किलोमिटर लामो सडकखण्डका विभिन्न स्थानमा कालीगण्डकीले सडक कटान गर्नुका साथै कतिपय ठाउँमा सडक नै बगाएको छ । सडक खुलाउन सडक विभाग र निर्माण व्यवसायीले १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेका छन् । कालीगण्डकी करिडोरलाई सुरक्षित, भरपर्दो र बाह्रै महिना सञ्चालनयोग्य बनाउन सके कोरला नाका चीनसँगको व्यापारको महत्वपूर्ण ढोका बन्न सक्ने नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश महासचिव शिव ज्ञवालीको भनाइ छ ।
