बडादसैँ: विगतबाट पाठ सिक्दै वर्तमान सुधार्ने अवसर

मेचीकाली संवाददाता

२६ आश्विन २०८३, सोमबार
8 shares

घनश्याम कोइराला

हाम्रा पर्व तथा संस्कृतिहरू कसैलाई होच्याउने वा विभेद गर्ने माध्यम होइनन्, बरु आपसमा जोडिने र मिलन गराउने पवित्र अवसर हुन् । हाम्रा हरेक मौलिक परम्पराको आफ्नै इतिहास र विशिष्टता रहेको छ । नेपाली समाजका अधिकांश पर्वहरू सनातन प्रकृतिका छन् । यिनीहरू कहिले, कसले, कहाँ र कसरी सुरु गरे भन्ने कुरा ठ्याक्कै यकीन गरेर भन्न सकिँदैन तर हाम्रा कतिपय पर्वहरू इतिहाससँग पनि जोडिएका छन्, जसका बारेमा ठोस आधार प्रस्तुत गर्न सकिन्छ । अहिले हामी बडादसैँको संघारमा छौँ र यो एक प्राचीन तथा सनातन पर्व नै हो ।
विगतका असान्दर्भिक कुरामा अल्झिनुभन्दा वर्तमानलाई सार्थक बनाउनुपर्ने सन्दर्भमा नीतिशास्त्रमा भनिएको छ ।
अतीतं न च शोचामि, न च भाविनं चिन्तयामि ।

वर्तमानकालेन तु वर्तयन्ति विचक्षणाः अर्थात् विद्वान् तथा विवेकशील व्यक्तिहरू विगतका कमजोरी वा दुःखको शोक गरेर समय व्यतीत गर्दैनन् र भविष्यको काल्पनिक चिन्तामा भुल्दैनन्; उनीहरू वर्तमानलाई राम्रो, न्यायपूर्ण र सार्थक बनाउन क्रियाशील हुन्छन् ।

इतिहासमा भइसकेका घटना र तथ्यहरूलाई मेट्न सकिँदैन । विगतका कतिपय विषयहरू आजको युग र सन्दर्भमा नमिल्दा वा असान्दर्भिक हुन सक्छन्, यसो हुनु स्वाभाविक हो । विगतलाई जस्ताको त्यस्तै अहिले लागू गर्न सकिँदैन भने विगतका सबै कुराहरूलाई पूरापूर बिर्सिएर छोड्न पनि मिल्दैन । यस्तो अवस्थामा विगतको मर्म र सारलाई बुझेर वर्तमानको व्यवहार सुधार्नु नै उत्तम विकल्प हो । विगतलाई सच्याउनु भनेको विगतका कमी–कमजोरीहरूलाई पछाडि छाड्दै वर्तमान–सम्मत व्यवहार अपनाउनु हो ।

भविष्य कस्तो हुन्छ भन्ने कुरा ठ्याक्कै कसैलाई थाहा हुँदैन तर एउटा कुरा प्रष्ट छ–आजको हरेक भविष्य भोलि वर्तमान बन्छ र प्रत्येक आज भोलिका लागि विगत बन्छ । विगत भनेको केवल इतिहास र अनुभव हो । वर्तमान नै जीवन हो; त्यसैले वर्तमानलाई सहज, सरल र सुखी बनाउनु हाम्रो दायित्व हो । कसैलाई अपमान गरेर, लाञ्छना लगाएर, विभेद गरेर वर्तमान उज्यालो बन्न सक्दैन ।

हामीलाई इतिहास, परम्परा र पुर्खाले दिएका विषयहरूलाई लिएर अनावश्यक विवादमा अल्झिनु हुँदैन । विगत दुःखपूर्ण, विभेदयुक्त वा अन्धकारमय थियो अथवा विगतमा सुखैसुख, न्याय र समानता मात्रै थियो भनेर एकाङ्गी रूपमा बुझ्नु सही होइन । सकारात्मक र नकारात्मक दुवै पक्षलाई सन्तुलित र समभाव दृष्टिकोणले हेर्नुपर्छ । जीवनका हरेक अनुकूल र प्रतिकूल परिस्थितिमा सन्तुलन कायम राख्ने विषयमा श्रीमद्भगवद्गीता मा भगवान् श्रीकृष्ण भन्नुहुन्छः
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते अर्थात् (श्रीमद्भगवद्गीता, अध्याय २, श्लोक ४८) अर्थात् सफलता र असफलता, सुख र दुःख, जय र पराजय जस्ता अनुकूल वा प्रतिकूल दुवै स्थितिमा मनलाई विचलित हुन नदिई समभाव राख्नु नै सच्चा विवेकशीलता र योग हो ।

यदि सोच नै नकारात्मक छ भने उँट खेलमैदानमा छिरे पनि काँडाघारी नै खोज्न पुग्छ, तर भ्यागुतो हिलोमा नै बस्न रुचाउँछ र त्यही हिलोमा सुन्दर कमलको फूल पनि फुल्छ । टाढाबाट हेर्दा पूर्ण देखिने चन्द्रमामा पनि दाग देखिन्छ तर काँडाको पनि आफ्नै औचित्य हुन्छ, भ्यागुतो पनि जैविक विविधताको एक सुन्दर अङ्ग हो र कमल फुल्न हिलोको आवश्यकता पर्छ । मुख्य कुरा चन्द्रमाको शीतलता र उज्यालो हो, उसको दागको व्यापार गर्नुहोइन । यसरी हेर्दा हामीले विगतलाई सरापेर, विवाद गरेर वा असान्दर्भिक कुरा दोहो¥याएर समय व्यतीत गर्नुहुँदैन । आजका लागि जुन कुरा उपयोगी, उचित र न्यायपूर्ण छ, त्यही काम र व्यवहार हामीले गर्नुपर्छ ।

अहिले हाम्रोसामु बडादसैँ छ । दसैँ विवाद गर्ने विषय होइन । कुनै समय कुनै खास प्रसङ्गबाट सुरु भएको दसैँसँग समयक्रममा अन्य धेरै सामाजिक र सांस्कृतिक आयामहरू जोडिँदै आएका छन् । यो पर्व कुनै आर्य र अनार्य बिचको सङ्घर्षको विषय होइन । यो कुनै खास जातीय युद्धको विजय वा पराजयको कथा मात्र पनि होइन ।

दसैँको आफ्नै कथा छ । वास्तवमा, यो कथा देवता र दानव बिचको युद्धको सन्दर्भ हो । देवताहरू हारिसकेको अवस्थाबाट सुरु भएर देवी (शक्ति) को विजयमा यो कथा उत्कर्षमा पुग्छ । जित्नेको इतिहासमा जित्नेकै यशोगाथा लेखिनु स्वाभाविक हो । तत्कालीन समयमा हार्नेहरू प्रायः जीवित रहँदैनथे । जीवित नै नरहेपछि उनको इतिहास कसले लेख्ने ?
दसैँ अर्थात् नवदुर्गा (नवरात्र) को प्रसङ्गमा देवीका विरुद्धमा रहेका असुरी शक्तिहरू (शुम्भ, निशुम्भ, महिषासुर आदि) मारिएका थिए र विजयी देवीको पूजा, आराधना, उपासना र प्रसाद नै दसैँको मूल विषय बन्यो । सत्य, धर्म र न्यायको रक्षाका लागि शक्तिको उपासना गरिने सन्दर्भमा श्रीदुर्गासप्तशती (मार्कण्डेय पुराण) मा भनिएको छ ।

इत्थं यदा यदा बाधा दानवोत्था भविष्यति ।
तदा तदावतीर्याहं करिष्याम्यरिसङ्क्षयम् ।। (श्रीदुर्गासप्तशती)
अर्थात् जब–जब समाजमा दानवी/असुरी प्रवृत्ति, अन्याय र अत्याचारले बाधा उत्पन्न गर्छ, तब–तब अवतार लिएर म शत्रुहरूको नाश गर्नेछु ।

नेपालीहरूका बिचमा दसैँको आफ्नै सामाजिक र सांस्कृतिक विशिष्टता छ । लिङ्गे पिङ, बाटो, आँगन र घरको सरसफाइ, रातोमाटो र कामेरोले घर पोत्नु, जमरा राख्नु, अक्षता–टीका, आफन्त बिचको भेटघाट, मान्यजनको आशीर्वाद, मेलमिलाप, मीठो खानपिन र नयाँ लुगा लगाउनुजस्ता कुराहरू यससँग जोडिएका छन् । दसैँलाई उत्सवका रूपमा मनाउने मुख्य आधार नै यही भाइचारा र खुसी हुन् । त्यसैले यो पर्व कम्तीमा १० दिनसम्म मनाइन्छ र यसलाई ‘बडादसैँ’ भनिएको हो ।

देवी वा अन्य पात्रहरू कुन जात, कुल वा गोत्रका थिए भनेर खोतल्नु र त्यसलाई आजको जातीय वा धार्मिक विवादसँग जोडेर हेर्नुको कुनै अर्थ छैन । दसैँ मनाउनेहरूले पूर्ण श्रद्धा, विश्वास र उत्सवका साथ मनाऔँ । नमनाउनेहरूले पनि यसका बारेमा नकारात्मक टिप्पणी गरेर अरूको दिल–भावना नदुखाऔँ । नमनाउनेहरूका पनि आफ्नै तर्क, मान्यता र परम्परा हुन सक्छन् भन्ने कुरालाई हामी सबैले बुझौँ र सम्मान गरौँ । अनेकौँ विविधताका बिच पनि सामाजिक सद्भाव र एकता कायम राख्ने वैदिक सन्देश अथर्ववेद मा पाइन्छ:
जनं बिभ्रती बहुधा विवाचसं नानाधर्माणं पृथिवी यथौकसम् ।
सहस्रं धारा द्रविणस्य मे दुहां ध्रुवेव धेनुरनपस्फुरन्ती अर्थात् जसरी एउटै घरले परिवारका सबै सदस्यलाई ओत दिन्छ, त्यसैगरी यो पृथ्वीले विभिन्न भाषा, संस्कृति र मान्यता मान्ने मानिसहरूलाई स्नेही भावले आश्रय दिएकी छिन् । तसर्थ, हामीले एक–अर्काको अस्तित्व र विविधताको सम्मान गर्नुपर्छ ।

विविधता र भिन्नता नै हाम्रो नेपाली समाजको वास्तविक सामाजिक सौन्दर्य हो । अरूको अस्तित्व, मूल्य र मान्यताको आदर गर्नु नै सभ्य समाजको पहिचान हो । हामी काल्पनिक कथामै उड्ने वा भौँतारिने होइन, यथार्थमा बाँच्ने हो । सांस्कृतिक कथा र आधुनिक काल्पनिक पात्र (जस्तैः स्पाइडरम्यान) को भ्रममा परेर कतिपय बालबालिकाहरू दुर्घटनामा पर्न सक्ने जोखिमप्रति पनि हामी सचेत हुनुपर्छ ।

तसर्थ, विगतका कमी–कमजोरीलाई छाडेर, भाइचारा र विविधताको सम्मान गर्दै, वर्तमानलाई सुखद् र न्यायपूर्ण बनाउनेतर्फ लाग्नु नै आजको आवश्यकता हो । बडादसैँ पर्वले हामीलाई यही र यस्तै सकारात्मक सन्देश दिएको छ । (लेखकः कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)