अमेरिकाबाट आयो एक लाख मात्रा ‘फाइजर खोप’

मेचीकाली संवाददाता

८ कार्तिक २०७८, सोमबार
510 shares

काठमाडौं । अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरे ।

अनुदान सहायता स्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ ।

निर्देशक केभान्शाडले कोभिड महामारीको समयमा नेपालप्रतिको सहयोगलाई निरन्तरता दिने कार्यक्रम अनुसार एक लाख भन्दा बढी कोभिडविरुद्धको फाइजर खोप नेपाललाई सहयोग गर्न पाउँदा अमेरिकालाई खुशी लागेको बताए ।

उनले यो खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना समेत सुनिश्चत गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा गर्व लागेको बताए ।

निर्देशक केभान्शाडले अमेरिकाले यसअघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जान्सन एण्ड जान्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको स्मरण गराए । त्यसै गरी अमेरिकाले करीब १२ करोड २० लाख डलरभन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराइसकिएको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। पोखरेलले अमेरिकाले एक लाखभन्दा बढी मात्राको कोभिडविरुद्धको फाइजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

अमेरिका कोभिड महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यमा नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको पनि यूएसएआइडीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।